अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियासँग संवाद पुनः सुरू गर्ने प्रयास गरिरहेका बेला उत्तर कोरियाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली छल्न सक्ने नयाँ हाइपरसोनिक हतियार परीक्षण गरेको दाबी गरेको छ।
आइतबार नयाँ प्रकारको हतियार सफलतापूर्वक परीक्षण गरिएको भनेर उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसीएनएले मंगलबार जनाएको छ। उत्तर कोरियाली नेता किम जोङ उनले छोरी किम जु एइसँग परीक्षणको निरीक्षण गरेका थिए।
उत्तर कोरियाले हतियारको विस्तृत प्राविधिक विवरण सार्वजनिक नगरे पनि सार्वजनिक गरिएका तस्बिरमा छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रमा ‘हाइपरसोनिक ग्लाइड भेहिकल’ जडान गरिएको देखिएको फाइनान्सियल टाइम्सले जनाएको छ।
दक्षिण कोरियाली सेनाका अनुसार आइतबार उत्तर कोरियाले पूर्वी तटीय क्षेत्र वन्सानबाट दुई वटा छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। तीमध्ये एउटा करिब ४५० किलोमिटर र अर्को ६०० किलोमिटरभन्दा बढी दूरीसम्म उडेका थिए।
हाइपरसोनिक हतियार ध्वनिको गतिभन्दा पाँच गुणाभन्दा बढी गतिमा उड्न सक्ने र उडानका क्रममा दिशा परिवर्तन गर्न सक्ने भएकाले तिनलाई रोक्न परम्परागत ब्यालिस्टिक क्षेप्यास्त्रभन्दा कठिन मानिन्छ।
उत्तर कोरियाले परीक्षण गरेको प्रणालीको प्रक्षेपण मार्गमा क्षेप्यास्त्र तल झरेपछि फेरि कम उचाइमा माथि उठेको देखाइएको थियो। यस्तो क्षमताले दक्षिण कोरिया र जापानमा रहेका क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका लागि चुनौती बढाउन सक्ने विज्ञहरूको विश्लेषण छ।
तर उत्तर कोरियाले दाबी गरेजस्तो हाइपरसोनिक क्षमतामा उक्त हतियार निरन्तर सञ्चालनमा आउन सक्ने भइसकेको हो कि होइन भन्नेबारे विज्ञहरूबीच पूर्ण सहमति छैन। दक्षिण कोरियाली सेनाले पनि उत्तर कोरियाका क्षेप्यास्त्र क्षमतासम्बन्धी दाबीलाई शतप्रतिशत विश्वास गर्न नसकिने बताएको छ।
किमले नयाँ हतियारलाई आफ्ना विरोधीका लागि निको नहुने टाउको दुखाइ बन्ने बताएका छन्। उनका अनुसार यसले उत्तर कोरियाको सैन्य तयारी र आधुनिक हतियार विकासमा महत्वपूर्ण प्रगति देखाएको छ।
ट्रम्प र लीको कूटनीतिक प्रयासलाई धक्का
उत्तर कोरियाको नयाँ क्षेप्यास्त्र परीक्षण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले किमसँग संवाद पुनः सुरू गर्ने प्रयास गरिरहेका बेला भएको हो।
ट्रम्पले यसै वर्ष किमसँग फेरि भेट्न इच्छुक रहेको बताउँदै आएका छन्। ह्वाइट हाउसले पनि कुनै पूर्वसर्त बिनै वार्ताका लागि ट्रम्प तयार रहेको जनाएको छ। ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग तीनपटक भेटेका थिए। तर उत्तर कोरियाको आणविक कार्यक्रम अन्त्य गर्ने विषयमा वार्ता निष्कर्षविहीन भएको थियो।
दक्षिण कोरियाली राष्ट्रपति लीले भने उत्तर कोरियाले तत्काल आणविक हतियार त्याग्नुपर्ने सर्त राख्नुको सट्टा पहिले आणविक हतियार विकास र परीक्षण रोक्ने सम्झौता गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। त्यसपछि क्रमशः निशस्त्रीकरणतर्फ जान सकिने उनको धारणा छ।
तर उत्तर कोरियाले अहिलेसम्म अमेरिका र दक्षिण कोरियाका यस्ता प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको छैन। उत्तर कोरियाले दक्षिण कोरियालाई स्थायी रूपमा शत्रु राष्ट्रका रूपमा परिभाषित गर्दै दुई देशबीचको एकीकरण सम्बन्धी पुरानो प्रतिबद्धता समेत त्यागिसकेको छ।
विश्लेषकहरूका अनुसार रुससँग बढ्दो सैन्य तथा आर्थिक सम्बन्ध र आफ्नै आणविक तथा क्षेप्यास्त्र क्षमताको विस्तारका कारण किम सरकार विगतको तुलनामा बलियो अवस्थामा पुगेको ठान्छ। यसले अमेरिका र दक्षिण कोरियासँग वार्ता पुनः सुरु गर्न उत्तर कोरियालाई तत्काल दबाब कम भएको विश्लेषण गरिएको छ।
तर दक्षिण कोरियाका राष्ट्रपति लीले भने उत्तर कोरियासँग संवाद पुनः सुरू गर्ने प्रयास जारी राख्ने बताएका छन्। उनले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा उत्तर कोरियासँग व्यावहारिक र चरणबद्ध रूपमा सम्बन्ध सुधार गर्ने आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने तयारी गरेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)