इरानलाई ध्वस्त पार्ने चेतावनी केही घन्टा पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी प्रतिनिधिहरूसँग न्युयोर्कमा भएको वार्ता धेरै राम्रो र उत्पादक भएको बताएका छन्।
यससँगै अमेरिका–इरानबीच जारी द्वन्द्व अन्त्यका लागि कूटनीतिक बाटो खुल्ने सम्भावना फेरि देखिएको ब्लुमबर्गले लेखेकोछ।
मंगलबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता गरेर उसलाई पुनर्निर्माणको अवसर दिने कि इस्लामिक गणतन्त्रलाई छिट्टै ध्वस्त पार्ने भन्ने विकल्प रहेको बताएका थिए।
तर त्यसको केही घन्टापछि उनका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जेरेड कुश्नरले इरानी प्रतिनिधिसँग मध्यस्थकर्ता मार्फत वार्ता गरेका थिए।
विटकफ र कुशनरले यसअघि पनि इरानसँगको वार्तामा अमेरिकी पक्षको नेतृत्व गरेका थिए। तर सो वार्ता चलिरहेको बेला फेब्रुअरीको अन्त्यमा अमेरिका र इसराइलले इरान विरुद्ध युद्ध सुरू गरेका थिए।
संयुक्त राष्ट्रसंघको महासभाका क्रममा न्युयोर्कमा भएको तीन घन्टा लामो वार्तालाई ट्रम्पले धेरै उत्पादक बताएका छन्। उनले निकट भविष्यमै अर्को चरणको वार्ता हुने पनि बताएका छन्।
यद्यपि, वार्तामा के विषयमा सहमति वा प्रगति भयो भन्ने स्पष्ट भइसकेको छैन। इरानले पनि सुरुमा वार्ताबारे औपचारिक प्रतिक्रिया दिएको थिएन।
पछि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले न्युयोर्कमा भएका बैठकहरूको उद्देश्य इरानका मागहरू प्रस्तुत गर्नु रहेको बताएका छन्। उनका अनुसार कतारले वार्ताका लागि मध्यस्थता गरेको थियो।
एकै दिन ट्रम्पका दुई फरक धारणा
मंगलबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दा ट्रम्पले इरानलाई कडा चेतावनी दिएका थिए।
तर केही घन्टापछि इरानी प्रतिनिधिसँगको वार्ताबारे बोल्दा उनको भाषा तुलनात्मक रूपमा नरम थियो।
ट्रम्पले न्युयोर्कमा खाडी मुलुकका अधिकारीहरूसँग भेट्नुअघि पनि इरानसँगको वार्ताको प्रसंग उठाएका थिए। उक्त बैठकमा छ सदस्यीय गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) का सदस्य राष्ट्र सहित सिरिया, इराक, जोर्डन र टर्कीका प्रतिनिधि सहभागी थिए।
युद्ध अन्त्य गर्न दबाब
अमेरिकामा युद्धको विरोध बढिरहेका बेला ट्रम्पमाथि द्वन्द्व अन्त्य गर्न राजनीतिक दबाब बढेको छ। तर उनले आन्तरिक राजनीतिक दबाबले आफ्नो निर्णय प्रभावित नहुने बताउँदै आएका छन्।
युद्धका कारण अमेरिकामा डिजेल र पेट्रोलको मूल्य बढेको छ। इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएको छ भने १९ अमेरिकी सैनिकको मृत्यु भएको छ।
त्यसैगरी विश्वभर तेलको आपूर्तिमा समेत अवरोध आएको छ। इरानले स्ट्रेट अफ हर्मुजमाथिको आफ्नो नियन्त्रण खुकुलो पार्न अस्वीकार गर्दै आएको छ। यमनमा इरान संचालित हुथी विद्रोहीहरूले पनि रेड सीमा व्यापारिक पानीजहाजमाथि आक्रमण गर्ने चेतावनी पुनः दिएका छन्।
खाडी मुलुकहरू पनि युद्ध अन्त्य होस् भन्ने चाहन्छन्। इरानी क्षेप्यास्त्र र ड्रोनका कारण उनीहरूको भूभाग र पानीजहाजहरू निशानामा परेका छन्। हर्मुज हुँदै हुने आवतजावत प्रभावित भएपछि ती देशहरूको अर्थतन्त्रमा समेत असर परेको छ।
ट्रम्पले न्युयोर्क आउनुअघि इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग भेटघाट गर्न सकिने संकेत गरेका थिए। ट्रम्प र पेजेस्कियानबीच भेट हुन सक्ने सम्भावना तथा अमेरिकाले नाकाबन्दी हटाए इरानले हर्मुज पुनः खोल्न सक्ने खबरले मंगलबार कच्चा तेलको मूल्यमा समेत गिरावट आएको थियो।
अमेरिका–इरानबीचको पछिल्लो संवादले युद्ध अन्त्यका लागि कूटनीतिक सम्भावना पुनः चर्चामा ल्याएको छ। तर वार्ताबाट ठोस प्रगति भए/नभएको र दुवै पक्ष युद्धविराम वा दीर्घकालीन सम्झौतामा पुग्न सक्ने अवस्था बनेको छ कि छैन भन्ने अझै स्पष्ट छैन।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)