इलाम प्रहरीले गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।
प्रहरीले ट्रकको फल्स बटम बनाएर लुकाइएको अवस्थामा १ हजार ५०४ किलो ६१० ग्राम गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार मंगलबार साँझ करिब ६ः३५ बजे इलाम नगरपालिका–९ भञ्ज्याङस्थित मेची राजमार्गमा प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको थियो।
प्रहरी सहायक निरीक्षक उत्तम भुजेलको कमान्डमा खटिएको चेकिङ टोलीले राजदुवाली सडकको अवस्थाका कारण ठूलो सवारीसाधनलाई कन्चनजंघा सडकखण्डतर्फ डाइभर्सन गराउने क्रममा ना.४ ख ८९१६ नम्बरको फुलबडी ट्रक राजदुवालीतर्फ अघि बढिरहेको देखेको थियो।
प्रहरीले ट्रक रोकेर सम्झाउने क्रममा चालकले ट्रक स्टार्ट अवस्थामै छाडेर फरार भएको प्रहरीले जनाएको छ। त्यसपछि जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक देवी दत्त मोक्तोको कमान्डमा प्रहरी टोली खटाइएको थियो।
टोलीले ट्रकको चेकजाँच गर्दा फल्स बटम बनाएर त्रिपालले छोपेको अवस्थामा बोरा राखिएको फेला पारेको थियो। प्रहरीका अनुसार ट्रक नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई तौल गर्दा ४१ बोरामा १ हजार ५०४ किलो ६१० ग्राम गाँजा बरामद भएको हो।
फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।