सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा एकै रात ५५ जना पक्राउ परेका छन्।
उनीहरूको साथबाट ११ लाख रुपैयाँभन्दा बढी नगद बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले रातभर जिल्लाका विभिन्न स्थानमा छापा मारेको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी ठाकुरप्रसाद पोखरेलका अनुसार ५२ जना प्रहरी परिचालन गरेर आधा दर्जन ठाउँमा अपरेसन चलाइएको थियो।
‘एकै रातको अपरेसनमा कम्तीमा ५५ जना पक्राउ परेका छन्। जुवा खालबाट ११ लाख रुपैयाँभन्दा बढी बरामद भएको छ,’ एसपी पोखरेलले भने।
प्रहरीले सोमबार बिहान करिब पौने ३ बजे वीरेन्द्रनगर नगरपालिका–३ गण्डकी लाइनस्थित पदम चौलागाईंको घरमा छापा मारेर आठ जनालाई पक्राउ गरेको छ।
उक्त घरमा जुवातास भइरहेको गोप्य सूचना पाएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो।
प्रहरीका अनुसार पक्राउ परेका आठ जनाको साथबाट तीन लाख ७७ हजार ८५० रुपैयाँ बरामद भएको छ। उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
कर्णाली प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेश प्रहरी गण र जिल्ला प्रहरी कार्यालयबाट गरी ५२ जना प्रहरीको संयुक्त टोलीले उक्त घरमा छापा मारेको थियो।
टोलीमा प्रहरी निरीक्षक किसमत बुढामगरको कमान्डमा प्रदेश प्रहरी कार्यालयबाट १६ जना, प्रहरी निरीक्षक हिमाल थापामगरको कमान्डमा प्रदेश प्रहरी गणबाट २१ जना र प्रहरी निरीक्षक जितेन्द्र कठायतको कमान्डमा जिल्ला प्रहरी कार्यालयबाट १५ जना खटिएका थिए।
पक्राउ परेका सबैको विवरण संकलन भइरहेको र केही समयपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
पक्राउ परेका आठ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ।
एकै रात ठूलो संख्यामा मानिसहरू पक्राउ परेपछि हिरासत कक्षसमेत भरिएको प्रहरीले जनाएको छ।