अहिले विकसित भइरहेको असाधारण रूपमा शक्तिशाली ‘सुपर एल निनो’का कारण आगामी छ महिनामा विश्वभर चार लाख ५१ हजारभन्दा बढी मानिसको अतिरिक्त गर्मीका कारण मृत्यु हुन सक्ने जलवायु वैज्ञानिकहरूको अनुमान छ।
क्लाइमेट इम्प्याक्ट ल्याबका अनुसन्धानकर्ताहरूले गरेको प्रक्षेपणअनुसार सन् २०२६ सेप्टेम्बरदेखि २०२७ फेब्रुअरीसम्म एल निनोका कारण बढ्ने तापक्रमले हुने अतिरिक्त मृत्युको संख्या चार लाख ५१ हजार पुग्न सक्छ।
यो संख्या जलवायु परिवर्तनका कारण यसअघि नै बढेको तापक्रमबाट हुने मृत्युभन्दा अतिरिक्त हो।
अनुसन्धानकर्ताहरूका अनुसार यसको प्रभाव इन्डोनेसिया, भारत र नाइजेरियादेखि अमेरिकासम्म देखिनेछ। गर्मीका कारण हुने मृत्युसँगै एल निनोले निम्त्याउने खडेरी, डढेलो र बाढीबाट हुने थप मानवीय क्षति पनि हुन सक्छ।
आगामी छ महिनामा सबैभन्दा बढी प्रभावित हुने देशमा नाइजेरिया, इन्डोनेसिया, सुडान, भारत र ब्राजिल हुनेछन् भनेर द गार्डियनले लेखेको छ।
अमेरिका पनि बढी प्रभावित हुने २० देशभित्र पर्ने र त्यहाँ करिब ३,५०० अतिरिक्त गर्मीजन्य मृत्यु हुन सक्ने अनुमान छ। अफ्रिकाको साहेल क्षेत्र र दक्षिणपूर्वी एसिया पनि बढी जोखिममा छन्।
अनुसन्धानकर्ताहरूले २४ हजार ३७८ क्षेत्रको महिनैपिच्छे तापक्रम र अतिरिक्त मृत्युबीचको सम्बन्ध अध्ययन गरी आगामी महिनामा एल निनोका कारण बढ्ने तापक्रमको प्रक्षेपणसँग तुलना गरेका हुन्। त्यसका लागि सन् १९९६ देखि २०२५ सम्मको औसत मासिक गर्मीजन्य मृत्युलाई आधार बनाइएको थियो।
अनुसन्धानको अनुमान अनुसार गर्मीका कारण हुने अतिरिक्त मृत्युको संख्या २०२७ को जुन वा जुलाईसम्म उच्च रहन सक्छ। यद्यपि हालको तापक्रम प्रक्षेपण भने फेब्रुअरीसम्म मात्र उपलब्ध छ।
वैज्ञानिकहरूले तत्काल पूर्वतयारी गरे धेरै मानिसको ज्यान जोगाउन सकिने बताएका छन्। त्यसका लागि गर्मीको पूर्वसूचना प्रणाली बलियो बनाउने, मानिसलाई अत्याधिक गर्मीबाट जोगिन सक्ने ‘कुलिङ सेन्टर’ स्थापना गर्ने, अत्याधिक गर्मीका बेला स्वास्थ्य संस्थामा थप जनशक्ति परिचालन गर्ने तथा बाहिरी क्षेत्रमा काम गर्ने श्रमिकलाई सुरक्षा प्रदान गर्ने उपाय सुझाइएको छ।
क्यालिफोर्निया विश्वविद्यालय, बर्क्लीकी अनुसन्धानकर्ता तम्मा कार्लटनले अहिलेको आपत्कालीन तयारीले यस वर्ष धेरैको ज्यान जोगाउन सक्ने बताएकी छन्। तर भविष्यमा अहिलेको चरम तापक्रम नै सामान्य बन्न सक्ने भएकाले दीर्घकालीन अनुकूलनका उपाय तत्काल विकास गर्नुपर्ने उनको भनाइ छ।
किन यसपटकको एल निनोलाई ‘सुपर’ भनिएको हो?
एल निनो प्रशान्त महासागरमा नियमित रूपमा दोहोरिने प्राकृतिक जलवायु प्रणाली एल निनो–सदर्न असिलेसनको तातो चरण हो। यस क्रममा भूमध्यरेखीय प्रशान्त महासागरको मध्य तथा पूर्वी भागको समुद्री सतहको तापक्रम सामान्यभन्दा असामान्य रूपमा बढ्छ। समुद्रको तापक्रममा आएको यस्तो परिवर्तनले हावा, वर्षा र वायुमण्डलीय परिसञ्चरण (सर्कुलेसन) मा असर पार्दै विश्वका विभिन्न भागको मौसम बदल्न सक्छ।
सामान्य अवस्थामा प्रशान्त महासागरमा पूर्वबाट पश्चिमतर्फ बहने हावाले न्यानो पानी एसियातर्फ धकेल्छ। एल निनोको समयमा यी हावा कमजोर हुँदा न्यानो पानी पूर्वतर्फ सर्छ र समुद्रको सतह असामान्य रूपमा तात्छ। त्यसको प्रभाव विश्वका विभिन्न क्षेत्रमा वर्षा, खडेरी र तापक्रममा देखिन सक्छ।
‘सुपर एल निनो’ भने छुट्टै वैज्ञानिक श्रेणी होइन। सामान्यतया अत्यन्त शक्तिशाली एल निनोलाई सञ्चारमाध्यम र केही वैज्ञानिक छलफलमा ‘सुपर एल निनो’ भनिन्छ। यस पटकको एल निनोले विगतमा रेकर्ड भएका एल निनो घटनाको उच्च तापक्रमसमेत पार गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्।
यस घटनाको चरम अवस्था नोभेम्बर २०२६ देखि जनवरी २०२७ बीचमा पुग्ने अनुमान गरिएको छ।
जलवायु परिवर्तनले किन जोखिम थपेको छ?
एल निनो आफैमा प्राकृतिक घटना हो। तर अहिलेको एल निनो पहिले नै निकै तातेको पृथ्वीमा विकसित भइरहेको छ। त्यसैले यसको प्रभाव विगतका समान घटनाभन्दा बढी गम्भीर हुन सक्ने वैज्ञानिकहरूको भनाइ छ।
इम्पेरियल कलेज लन्डनकी जलवायु वैज्ञानिक फ्रिडेरिके ओट्टोका अनुसार एल निनो आउँछ र जान्छ, तर कार्वनजन्य इन्धन जलाइरहँदा यसको प्रभाव बढ्दो तातो तापक्रममाथि थपिन्छ। परिणाम स्वरूप गर्मी, खाद्य असुरक्षा र पानीको संकट सामना गर्न समुदायहरूलाई झन् कठिन हुँदै जानेछ।
एल निनोले खाद्य उत्पादनमा पनि असर पार्ने अनुमान छ। विश्व खाद्य कार्यक्रमले यसका कारण करिब पाँच करोड मानिस तीव्र खाद्य अभावको जोखिममा पर्न सक्ने चेतावनी दिएको छ। विगतको सन् १८७७–७८ को ठूलो एल निनो खडेरी र अनिकालसँग जोडिएको थियो। त्यसका कारण भारत, ब्राजिल तथा चीन सहितका क्षेत्र गम्भीर रूपमा प्रभावित भएका थिए।
यसरी अहिलेको सुपर एल निनो केवल तापक्रम बढाउने मौसमी घटना नभई स्वास्थ्य, खाद्य सुरक्षा, पानी र विपद् व्यवस्थापनसँग जोडिएको विश्वव्यापी जोखिमका रूपमा देखिएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)