दाङका दुई पालिकाले विद्यालयमा दुई दिन बिदा दिएको छ।
भारी वर्षा हुने चेतावनीपछि तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाले पालिकाभित्रका सबै विद्यालयहरूमा आज र भोलि दुई दिन बिदा दिने निर्णय गरेका हुन्।
तुलसीपुरका मेयर टीकाराम खड्काले जल तथा मौसम विज्ञान विभागले भारी वर्षा हुने तथा बाढी आउने भनेर गरेको पूर्वानुमानलाई मध्यनजर गर्दै दुई दिन विद्यालयमा बिदा दिने निर्णय भएको बताए।
बिहीबार दिउँसो उपमहानगरमा छलफल आह्वान गरिएको र त्यो छलफलपछि सम्भावित विपदका ठाउँको अनुगमन गरी नदी तटीय क्षेत्रका सर्वसाधारणलाई सजग गराउने काम हुने पनि उनले बताए।
जल तथा मौसम विज्ञान विभागले विशेष गरी असोज ९ गतेदेखि ११ गते सम्म अधिकांश भूभागमा भारी वर्षा हुने भनेको छ।
अन्दमान क्षेत्रमा बनेको न्यूनचापीय प्रणाली बंगालको खाडीमा प्रवेश गर्दा गहिरो न्यूनचापीय क्षेत्रमा परिणत भई अहिले भारतीय भूभागमा प्रवेश गरेको छ।
त्यहाँ प्रवेश गरेको प्रणालीको असर नेपालमा पर्ने विभागले जनाएको छ। विभागले लुम्बिनी र गण्डकी प्रदेशमा बढी प्रभाव पर्ने पनि जनाएको छ।
त्यो प्रतिकूल मौसमको सम्भावनालाई मध्यनजर गर्दै जिल्लाका दुई पालिकाले दुई दिन विद्यालय बिदा दिने निर्णय गरिएको जनाएका छन् ।
सम्भावित भारी वर्षा, हावाहुरी, चट्याङ तथा अन्य विपद्का जोखिमलाई ध्यानमा राख्दै विद्यालयमा दुई दिन बिदा दिने निर्णय गरिएका हुन ।
विद्यालय सञ्चालकहरुले भने बिदाबारे ढिलो निर्णय गरेकाले विद्यालयलाई व्यवस्थापनमा समस्या भएको बताएका छन्।
‘हाम्रा गाडीहरु विद्यार्थी लिन गइ सकेका थिए। कतिपय गाडी विद्यार्थी लिएर आइरहेका छन्,’ एक जना शिक्षकले भने।