ताप्लेजुङको मेरिङ्देनस्थित दोभान बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ।
बिहीबार दिउँसो मेरिङदेन गाउँपालिका–३ दोभानमा आगलागी भएको थियो।
मेरिङदेन गाउँपालिका ३ का वडाध्यक्ष गजिन्द्रकुमार लिम्बूले सेतोपाटीलाई दिएको जानकारी अनुसार दुई वटा दमकलको सहायतामा आगो निभाइएको छ।
‘सदरमुकाम फुङलिङबाट आएका दुई वटा दमकलले केहीबेर अघि आगो नियन्त्रणमा लिएका छन्,’ उनले भने, ‘अहिले पनि कतै कतै धुँवा आइरहेकाले दमकलले पानी छ्यापिरहेको छ।’
ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले पनि आगलागी नियन्त्रणमा आएको बताए।
वडाध्यक्ष लिम्बूका अनुसार दोभान बजारका स्थानीयबासी डन्डु शेर्पाको घरबाट आगलागी सुरू भएको थियो।
‘घरधनीका अनुसार उहाँको घरको मिटरबक्समा ड्याङ्ग ड्याङ्ग आवाज आएर आगो उठेको थियो,’ वडाध्यक्ष लिम्बूले भने, ‘अहिलेसम्म ९–१० वटा घर जलेको देखिएको छ।’
घरधनी शेर्पाले बताए बमोजिम विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको वडाध्यक्ष लिम्बूले बताए।