युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस–युक्रेन युद्धका क्रममा पक्राउ परेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण कोरियामा हस्तान्तरण गरिएको दाबी गरेका छन्।
बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले हालै दुई उत्तर कोरियाली युद्धबन्दीलाई दक्षिण कोरिया पठाइएको जानकारी दिएका हुन्।
जेलेन्स्कीका अनुसार तीमध्ये एक सैनिक पक्राउ पर्न लागेको थाहा पाएपछि आत्महत्या गर्ने प्रयास गरेका थिए। उनले ती सैनिकलाई जीवितै पक्राउ गर्नु सहज नभएको पनि बताएका छन्।
युक्रेनी सेनाले ती दुई उत्तर कोरियाली सैनिकलाई गत जनवरीमा रूसको कुर्स्क क्षेत्रमा पक्राउ गरेको थियो। रूसको पक्षबाट युक्रेनविरूद्ध युद्धमा उत्तर कोरियाली सेना सहभागी भएपछि जीवितै पक्राउ परेका उनीहरू पहिलो उत्तर कोरियाली सैनिक थिए।
त्यतिबेला जेलेन्स्कीले उनीहरूलाई उत्तर कोरियाली नेता किम जोङ उनको हातमा बुझाउन आफू तयार रहेको बताएका थिए। त्यसका लागि रूसमा बन्दी बनाइएका युक्रेनी नागरिकसँग उनीहरूको आदानप्रदान हुनुपर्ने उनको भनाइ थियो।
तर मानव अधिकार समूहहरूले ती सैनिकलाई उत्तर कोरिया फर्काउँदा उनीहरूले दण्ड तथा सम्भावित यातना भोग्नुपर्ने जोखिम रहेको भन्दै दक्षिण कोरियालाई हस्तान्तरण गर्न आग्रह गरेका थिए।
दक्षिण कोरियाली सञ्चार माध्यमहरूले पनि ती दुवै सैनिकले दक्षिण कोरियामा शरण लिन चाहेको बताएका थिए।
दक्षिण कोरियाली विपक्षी सांसद यु योङ–वनले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै दुई सैनिक गत सप्ताहन्तमा युक्रेनबाट तेस्रो देश हुँदै दक्षिण कोरिया पुगेको बताएका छन्। उनका अनुसार उनीहरू तीनदेखि चार दिनअघि दक्षिण कोरिया पुगेका हुन्।
‘उनीहरू अहिले कहाँ छन् भन्ने ठ्याक्कै थाहा छैन। तर हाम्रो गुप्तचर निकायले उनीहरूको सुरक्षा गरिरहेको मैले बुझेको छु,’ युलाई उद्धृत गर्दै योन्हाप समाचार एजेन्सीले जनाएको छ।
दक्षिण कोरियाको विदेश मन्त्रालयले भने सैनिक र उनीहरूका परिवारको सुरक्षालाई ध्यानमा राख्दै यस विषयमा पुष्टि गर्न नसकिने बताएको छ। एकीकरण मन्त्रालयले तत्काल प्रतिक्रिया दिएको छैन।
यसअघि दक्षिण कोरियाले रूसका लागि लडेका र उत्तर कोरिया फर्कन नचाहने सबै उत्तर कोरियाली युद्धबन्दीलाई स्वीकार गर्ने बताएको थियो। उसले उनीहरूलाई रूस वा उत्तर कोरिया फिर्ता पठाउने कदमको विरोध समेत गरेको थियो।
रूसको पक्षमा उत्तर कोरियाली सैनिक
जेलेन्स्कीले रूसलाई सहयोग गर्न उत्तर कोरियाले आफ्ना सैनिक पठाएको विषयमा पनि आलोचना गरेका छन्।
‘युक्रेन विरूद्धको युद्धमा कोरियालीहरूले आफ्नो ज्यान किन गुमाउने?’ उनले प्रश्न गर्दै किम जोङ उनले आफ्ना सैनिकलाई पैसाजस्तै प्रयोग गरिरहेको दाबी गरे।
युक्रेन र दक्षिण कोरियाली अधिकारीहरूको अनुमान अनुसार सन् २०२४ देखि उत्तर कोरियाले रूसलाई सहयोग गर्न करिब १४ हजारदेखि १५ हजार सैनिक पठाएको छ। तीमध्ये अधिकांशलाई रूसी क्षेत्र कुर्स्कमा तैनाथ गरिएको बताइएको छ। त्यहाँ उनीहरूले युक्रेनी सेनाको घुसपैठ रोक्न रूसी सेनालाई सहयोग गरेका थिए।
उत्तर कोरियाले रूसलाई ठूलो परिमाणमा तोप तथा मोर्टारका गोला, ब्यालिस्टिक क्षेप्यास्त्र, लामो दूरीका तोप र मल्टिपल–लन्च रकेट प्रणाली समेत उपलब्ध गराएको युक्रेनी तथा स्वतन्त्र विश्लेषकहरूले जनाएका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)