जिल्ला प्रशासन कार्यालय स्याङ्जाले असोज ८ गतेदेखि ११ गतेसम्म रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचना अनुसार स्याङ्जा जिल्ला समेत अति भारी हुन सक्ने सम्भावित जिल्ला रहेकोले वर्षाका कारण आउन सक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गरी साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीद्वारा जारी सूचनामा सम्भावित विपद्जन्य जोखिमबाट आम सर्वसाधारणको जिउ ज्यानको सुरक्षाका लागि जिल्लाभित्रको सिद्धार्थ राजमार्ग खण्डमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको उल्लेख छ।
साथै सिद्धार्थ राजमार्ग बाहेकका अन्य शाखा सडकहरूमा समेत अत्यावश्यक बाहेकका सवारी साधनहरू साँझ ६ बजेबाट बिहान ७ बजे सम्म सञ्चालनमा रोक लगाइएको छ।
सिद्धार्थ राजमार्ग तथा शाखा सडक हुँदै सञ्चालन हुने सार्वजनिक यातायात तथा अन्य कसैले पनि अत्यावश्यक बाहेक सवारी साधन सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
जोखिमयुक्त स्थानहरूमा बसोबास गरेका बासिन्दाहरूलाई उक्त स्थान तत्काल छाडी सुरक्षित स्थलमा बस्न, अत्यावश्यक बाहेक यात्रा नगर्न, अत्यावश्यक सवारी साधन सञ्चालन गर्नै पर्ने अवस्थामा नजिकको सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न पनि आग्रह गरेको छ।