सखारै
श्रष्टा धर्ती
आँगन बढार्छे नित्यझैं
सदियौंदेखिको उनको चुपचाप बिन्ती —
सानु, तिम्रो एक झल्को मायालु हेराइमा आफ्नो सर्वस्व सुम्पन व्यग्र छु म
चुलो-चौको गरिदिइसकेँ उहिल्यै
के तिमी मायाको एउटा मसिनु गाँस साट्दैनौ मसँग?
एक सरो दूबोको माला?
एक चिम्टी सौभाग्य–सिन्दूर?
एक थोप्लो मुसुक्क–टीका?
हिउँ–धर्ती
फेरि आँगन बढार्छे, फेरि बिन्ती थाप्छे —
मेरो प्यारो, स्यानो मान्छे
किन कहिल्यै पग्लिँदैन तिम्रो जाली मन?
तर आज
दशकौंसम्मको, सदियौंसम्मको उपेक्षापछि
ठगिएर भत्किएको मायाको भग्नअवशेषमा
छाती पिट्दै, कहालिँदै
दैलो ढकढकाइरहिछिन् धर्ती
साँझभरि–बिहानभरि
उनको मरेको आसलाई बिथामा किन ब्युँताइरहेछौं हामी सिरेटीहरू?
सुन
अजित सिरेटीहरूले बाटो फेरेका छौं आजको यो अभागी दिनमा
र त हिउँका अनकन्टार भीरहरूमा
धर्तीका थार पैतालाहरू
फ्याट्ट उछिट्टिएका छन् आज, फेरि कहिल्यै नटेक्ने गरी
विशाल कायालाई थेग्नै नसकेर
गल्र्याम्म ढल्छे धर्ती
भयानक विसर्जन
नब्युँतिने गरी मरेको आसको
उनको हातको गाँस चोखै छ अझै, तर थिलथिलाएर लेदोलेदो भएको छ
दूबोका मालाहरू इस्पाती त्रिशूल भएर गल हान्दै छन्
पुलहरूमा, बस्तीहरूमा
छ्यालब्याल भएको छ सिन्दुर, मरेर, खैरो–छुच्चो–मैलो
र पूरै किचिमिची छ निधारमा सिउँदोको सीमारेखा
धर्तीको मन नटालिनेगरी फाटेको छ आज
उनको अन्तर–आत्माको आहत आर्तनाद:
कतापट्टि तिम्रो इलाका, कतापट्टि उसको?
जाली मान्छेहरू
यो मस्तकमा न तिम्रो भाग लाग्छ न उसको
यो मेरो हो, केवल मेरो, सम्पूर्ण मेरो
मेरो आफ्नो भावी, मेरो आफ्नो तकदीर
नाम–रूप–धरा
हेर्दाहेर्दै
ताण्डव थाल्छे
प्रलय तालमा झन् झन् वेगिलो हुँदै, हुँकार्दै, रूद्र धर्ती
भयानक आत्महन्ता
घोर विनाशकारिणी
फुच्चे मान्छेहरू अवाक् छन्
धर्तीको त्रासद मृत्यु–प्रवंचना—
सतावतरामा मेरो शिव होस् तँ
भृकुटी हुँदा भोटेकोशी
छस् तँ छायाको भुलभुलैयामा
र म नै हुँ
महाजलप्रलय — महामाया
धर्तीको मरेको आङ
भीरहरूमा बज्रँदै-बज्रँदै खसिरहेछ एकाबिहानै
मासुका चोक्टाहरू उछिट्टिँदै बज्र-पिञ्जरबाट
ल्याचल्याच हिउँका सिनेहरू...
ए फुच्चे मान्छे, कतिन्जेलसम्म भौंतारिरहन्छस् तँ यो सिन्दूरलाई ढोकेर?
हेर्
जताततै पछारिएका छन् — धराका सडेगलेका लासहरू
तिम्रो भुत्ते जीवन, तिम्रा फुइँफुट्टे आविष्कारहरूमा
जताततै महाकालको भेल बगिरहेछ आज
घर–आँगन, डैला–डैलामा
तिम्रो झिनो आदिम इतिहास, तिम्रा आधुनिक तडक–भडकहरूमा
एउटा भन्छ — त्यसलाई कजाउन पुगेन
अर्को भन्छ — चरित्रहीन
तेस्रो भन्छ — स्त्रीहठ
म एक्ली साक्षी उनकी
धपाइएर निर्मम बिसारिएकी चेली
उद्भ्रान्त उचाइहरूमा
जटायु भएर बयान दिइरहेछु
हो — यस्तै थिइन्, यतैबाट गइन्
र मलाई भनेर गइन् —
मेरी साक्षी होस् सिरेटी तँ
बाँचेस् र बोल्नेस्
भलै तेरो पनि चीरहरण हुनेछ यहाँ मेरै जस्तै
आत्माका चोक्टा–चोक्टा लुछिनेछन् तेरा पनि
शब्द-शब्दमा तेस्र्याइनेछन् बलात्कारी तलवारहरू
तर पनि
मेरी स्यानी, मेरी प्यारी सिरेटी
यो अनकन्टार वीरानीमा मेरी नितान्त अन्तरंग अनुसाक्षी
सम्हालेस् आस र सासलाई
अनि बाँचेस् र बोल्नेस्
तेस्रो ध्रुव – तेस्रो चक्षुको
कण्ठस्थ हाम्रो हिउँ–पुराण
मेरो अन्तर्मनको आर्तनाद, तिम्रो विज्ञानको अन्तरचेतना
चारै दिशा गुन्जियोस् तिम्रो ध्वनि
अविरल
शिखरदेखि सागरसम्म
अनादिदेखि अनन्तसम्म
धर्तीले त्यै भनेर गइन्
धर्तीले त्यै भनेर गइन्।
***