कैलालीको लम्कीचुहा नगरपालिका–४ का ३३ वर्षीय दीपक सुनार हत्या प्रकरणमा उनकी पत्नीसहित पक्राउ परेका पाँच जना पुर्पक्षका लागि थुनामा पठाइएका छन्।
बिहीबार जिल्ला अदालत कैलालीले थुनछेक बहसका क्रममा दीपककी श्रीमती ३२ वर्षीया यमुना सुनार, उनका प्रेमी लम्कीचुहा–१० का ४१ वर्षीय दुर्योधन सुवर्णकार, कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–९ का ५६ वर्षीय वीरेन्द्र राना थारू, बेलौरी–८ का ३२ वर्षीय मिभ राना थारू र कैलालीको टीकापुर नगरपालिका–३ का ३२ वर्षीय रामराजेश महतोलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
जिल्ला न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले दीपक हत्या प्रकरणमा पक्राउ परेका सबैलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।
अदालतको आदेश कार्यान्वयनका लागि पाँचै जनालाई कारागारमा पठाइएको कैलालीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले बताए।
दीपकको हत्या घटनामा प्रहरीले घटनास्थलमा फेला परेको रगतको नमूना संकलन गरी डिएनए परीक्षणका लागि पठाएको भए पनि त्यसको रिपोर्ट अझै प्राप्त भइनसकेको उनले बताए।
दीपकको हत्यापछि शरीर र टाउको अलग गरी कर्णाली नदीमा फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ। दीपकको शव भने हालसम्म फेला पर्न सकेको छैन।
प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनाले दीपक हत्या प्रकरणमा आफ्नो संलग्नताबारे इन्कारी बयान दिँदै आएका छन्। तर प्राविधिक विश्लेषण तथा अनुसन्धानले यमुना र उनका प्रेमी दुर्योधनले हाल पुर्पक्षका लागि थुनामा पठाइएका तीन जनालाई दीपकको हत्या गर्न डेढ लाख रूपैयाँको सुपारी दिएको देखाएको छ।
हत्याको योजना बनाए यमुनाले दीपकलाई अमरावती जंगलमा पुर्याएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार यमुनाले दीपकलाई साउन २१ गते बेलुकी अमरावती जंगलमा पुर्याएकी थिइन्। जंगलमा पहिल्यै लुकेर बसेका चार जनाले घरेलु हतियार प्रहार गरी दीपकको हत्या गरेका थिए।
त्यसपछि दीपकको टाउको र शरीर अलग गरी शव मोटरसाइकलमा राखेर नजिकैको कर्णाली नदीमा फालेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको छ।
सम्बन्धित समाचार-
प्रेमीसँग मिलेर श्रीमानको हत्या, ५ जना पक्राउ