मुटुका सबै प्रकारका समस्यामा शल्यक्रिया गर्नुपर्छ भन्ने हुँदैन।
रोगको प्रकृति र बिरामीको अवस्थाअनुसार क्याथेटरमा आधारित उपचारदेखि ओपन हार्ट सर्जरीसम्मका विभिन्न उपचार विधि अपनाउन सकिने त्रि.वि. मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत उपप्राध्यापक एवं मुटुरोग विशेषज्ञ डा. स्मृति शाक्यले बताइन्।
उनका अनुसार क्याथेटरमा आधारित उपचारमा हात वा खुट्टाको रक्तनलीबाट तार तथा अन्य उपकरण मुटुसम्म पुर्याएर उपचार गरिन्छ।
मुटुका रक्तनलीमा अवरोध भएको अवस्थामा स्टेन्ट वा जाली राखेर उपचार गर्न सकिन्छ।
त्यस्तै, मुटुको संरचनासँग सम्बन्धित केही समस्यामा पनि बिरामीको अवस्था हेरेर छाती नचिरी क्याथेटरमार्फत उपचार गर्न सकिने अवस्था हुन्छ।
विशेषगरी मुटुको ठूलो नसासँग सम्बन्धित केही समस्यामा पहिले शल्यक्रिया नै गर्नुपर्ने अवस्था भए पनि अहिले बिरामीको अवस्था र रोगको प्रकृतिअनुसार शल्यक्रिया नगरी उपचार गर्न सकिने विकल्प उपलब्ध रहेको डा. शाक्यले बताइन्।
तर स्ट्रक्चरल कार्डियाक इन्टरभेन्सन शल्यक्रियालाई पूर्ण रूपमा विस्थापित गर्ने प्रविधि भने नभएको उनको भनाइ छ।
कतिपय बिरामीमा शल्यक्रिया आवश्यक नपर्ने तथा कतिपय अवस्थामा शल्यक्रिया गर्न नमिल्ने अवस्थाका लागि यस्तो उपचार उपयोगी हुने उनले बताइन्।
‘बिरामीको समस्या हेरेर मेडिकल टिमले उपचारको विधि तय गर्छ। शल्यक्रिया गर्ने कि छाती नचिरी उपचार गर्ने भन्ने निर्णय बिरामीको अवस्थाअनुसार हुन्छ,’ उनले भनिन्।
छाती नचिरी उपचार गर्दा बिरामीका लागि सहज हुने अवस्थामा कार्डियाक इन्टरभेन्सन प्रविधि रोज्न सकिने उनले बताइन्।
७ महिना इजरायलमा बसेर त्यहाँको उपचार प्रविधि र अभ्यासबारे सिक्दै गर्दा आधुनिक प्रविधिको प्रयोगका कारण केही फरक देखिए पनि उपचारको स्तरमा आफूले ठूलो भिन्नता महसुस नगरेको उनले बताइन्।
उमेरसँगै मुटुको भल्वमा समस्या
मुटुको भल्भमा देखिने समस्या उमेर बढ्दै जाँदा पनि हुनसक्ने डा. शाक्यले बताइन्।
उमेर बढ्दै जाँदा भल्भ साँघुरिँदै जाने र त्यसमा क्याल्सियम जम्मा हुने समस्या देखिन सक्छ। यसबाहेक जन्मजात कारणले पनि मुटुको भल्भमा समस्या आउन सक्छ।
'नेपालजस्तो देशमा बाथ मुटु रोगका कारण पनि मुटुको भल्भमा समस्या देखिन्छ। यस्तो समस्या नियमित स्वास्थ्य परीक्षणबाट पहिचान गर्न सकिने भए पनि धेरै बिरामी लक्षण देखिएपछि मात्र अस्पताल पुग्छन्,' उनले भनिन्, 'सास फेर्न गाह्रो हुने, बेहोस हुने वा शरीर सुन्निने जस्ता लक्षण देखिएपछि मात्रै अस्पताल आउने प्रवृत्ति छ। तर नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिनुपर्छ।'
सबै मुटु रोग जीवनशैलीका कारण हुँदैनन्
मुटुका रोग विभिन्न प्रकारका हुने भएकाले सबै रोगलाई जीवनशैलीसँग जोड्न नमिल्ने डा. शाक्यको सुझाव छ।
जन्मजात रूपमा मुटुमा प्वाल पर्ने समस्या आनीबानीका कारण नहुने र यस्ता समस्याको जोखिम अनुमान गर्न कठिन हुने उनले स्पष्ट पारिन्।
'केही प्रकारका मुटु रोगमा भने धूम्रपान, मद्यपान, शारीरिक व्यायाममा ध्यान नदिनु तथा खानपानमा लापरबाहीजस्ता कारणले जोखिम बढ्न सक्छ। त्यसैले मुटु रोगको उपचारसँगै रोग लाग्नुका कारण पहिचान गर्न पनि आवश्यक छ,' उनले भनिन्।
लक्षण नदेखिए पनि स्वास्थ्य परीक्षण आवश्यक
मुटुको परीक्षण गर्न लक्षण देखिनैपर्छ भन्ने छैन। कतिपय मानिसमा कुनै समस्या देखिएपछि थप तनाव हुने भन्दै स्वास्थ्य परीक्षण नै नगर्ने वा समस्या लुकाएर राख्ने प्रवृत्ति रहेको उनले बताइन्।
'स्वास्थ्य परीक्षणका क्रममा सुगर, हेमोग्लोबिन, मिर्गौला, कलेजो र थाइराइडको अवस्था हेर्नुका साथै इसिजी, इकोलगायतका परीक्षण गर्न सकिन्छ। प्रारम्भिक परीक्षणबाट थप जाँच आवश्यक देखिएमा त्यसअनुसार अन्य परीक्षण गर्न सकिन्छ,' उनले भनिन्।
मुटु रोगको सम्भावना देखाउने केही संकेत पनि हुन्छ।
'वंशानुगत कारण, धूम्रपान तथा मद्यपानजस्ता कारण जोखिमसँग सम्बन्धित हुनसक्छन्। त्यस्तै, उमेर बढ्दै जाँदा सास फेर्न गाह्रो हुने वा सामान्यभन्दा बढी थकाइ लाग्ने समस्यालाई उमेरको स्वाभाविक प्रभाव मात्र ठान्न हुँदैन,' उनले भनिन्।