पहिरोका कारण कर्णाली प्रदेश अन्तर्गत विभिन्न सात वटा सडकखण्ड अवरूद्ध भएका छन्।
लगातारको वर्षापछि झरेको पहिरोका कारण सल्यानको लुहाम– कालीमाटी सडक खण्ड अवरूद्ध भएको छ।
जिल्लाको त्रिवेणी गाउँपालिका–३ ढुंगेबगरमा शनिबार बिहान झरेको पहिरोका कारण सडक खण्ड अवरूद्ध बनेको हो।
कर्णाली प्रदेश प्रहरी प्रवक्ता एसएसपी सन्तोषसिंह राठोरका अनुसार सल्यान–सुर्खेत सडकखण्ड पनि पहिरोका कारण अवरूद्ध छ।
वनगाड कुपिन्डे नगरपालिका–८ र्यालेमा बिहान झरेको पहिरोका कारण सो सडक खण्ड अवरूद्ध हुन पुगेको हो।
त्यस्तै राप्ती राजमार्ग अन्तगर्त दाङ सल्यान सडकखण्ड पनि पहिरोका कारण अवरूद्ध छ।
जिल्लाको कपुरकोट गाउँपालिका– ५ खारखोलामा गएराति साढे १० बजेतिर झरेको पहिरोका कारण राप्ती राजमार्ग अवरूद्ध बन्न पुगेको एसएसपी राठोरले जानकारी दिए।
त्यस्तै कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका – ७ औलिसेमा शनिबार बिहान झरेको पहिरोका कारण सडक खण्ड अवरूद्ध बन्न पुगेको छ।
सुर्खेतदेखि हुम्ला जाने कर्णाली करिडोर पनि पहिरोका कारण अवरूद्ध बन्न पुगेको छ। हुम्लाको सर्केगाड गाउँपालिका – १ खच्चामा बिहान झरेको पहिरोका कारण उक्त सडक खण्ड अवरूद्ध छ।
अविरल वर्षापछि झरेको पहिरोका कारण रूकुमस्थित मध्य पहाडी लोकमार्ग पनि अवरूद्ध बन्न पुगेको छ।
कर्णाली प्रहरी प्रवक्ता राठोरका अनुसार शनिबार बिहान ७ बजेतिर रूकुम पश्चिमको सानीभेरी गाउँपालिका – २ सिम्लेखोलामा झरेको पहिरोको कारण मध्य पहाडी लोकमार्ग अवरूद्ध बनेको हो।
कालीकोट सडक खण्ड पनि पहिरोका कारण अवरूद्ध बन्न पुगेको छ।
प्रदेश प्रहरी प्रबक्ता राठोरका अनुसार शुक्रबार बेलुकी साढे ७ बजेतिर जिल्लाको शुभकालिका गाउँपालिका –१ गगने खोलामा आएको बाढीका कारण कर्णाली राजमार्ग अवरूद्ध छ।
यद्यपी प्रहरी आँफैले पनि जल तथा मौसम विज्ञान विभागको पूर्वसूचना र चेतावनीका कारण यहाँका राजमार्गहरुमा सवारी चलाउन रोक लगाउँदै आएको छ। जस्ले गर्दा सम्भावित क्षति हुन नपाएको प्रवक्ता राठोरले बताए।