अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गतको मलेखु–मुग्लिङ सडक खण्डमा विभिन्न १० ठाउँमा पहिरो खसेर सडक अवरूद्ध भएको छ।
केही स्थानमा सडक भासिनुका साथै चर्किएको र भत्किएको छ।
सडकको अवस्था निरीक्षण गर्दा शीलतबजार, गोमती खोला, कृष्णभीर, ज्यामिरेघाट–चौकीभीर, हुग्दी खोला–जवाङ खोला, फिस्लिङ, चुम्लिङटार, धारापानी, घोप्टेभीर र सिमलधारामा पहिरो तथा सडकमा क्षति पुगेको पाइएको नागढुंगा-मुग्लिन सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ।
कृष्णभीरमा माथिबाट लेदोसहितको पहिरो खसेर सडक दुईतर्फी अवरूद्ध भएको छ। सडकको तल्लो भाग भने यथावत रहेको र पहिरोको जोखिमयुक्त भाग प्लास्टिकले छोपिएको छ।
ज्यामिरेघाट–चौकीभीर, घोप्टेभीर र सिमलधारामा पनि पहिरोका कारण सडक दुईतर्फी अवरूद्ध छ।
फिस्लिङ क्षेत्रमा तीन स्थानमा गरी २०० मिटरभन्दा बढी सडक ठूला ढुंगा, लेदो र रुखसहितको पहिरोले पुरिएको छ। त्यहाँको केही सडकको आधा भाग करिब ३० मिटर चर्किएको तथा दबिएको छ।
धारापानीमा करिब ५० मिटर सडकको आधा भाग भत्किएको छ।
केही स्थानमा सडक एकतर्फी सञ्चालनमा रहे पनि वर्षाका कारण थप जोखिम कायमै रहेको जनाइएको छ।
पानी पर्न रोकिएपछि सबै प्रभावित स्थानमा आवश्यक मेसिन तथा उपकरण परिचालन गरी सडक खुलाउने तयारी गरिएको छ।
तर, आइतबार पनि मलेखु–मुग्लिङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहने देखिएकोले यात्रा नगर्न आग्रह गरिएको छ।
तस्बिरहरू-








तस्बिर- नागढुंगा-मुग्लिन सडक योजना