मनाङको सदरमुकाम चामेकी छोदेन याङचेन लामा शनिबार राति खाना खाएर सुत्ने तयारीमा थिइन्। राति करिब ११ बजेतिर एक जना युवक हतारिँदै उनको घरमा आए।
‘बाढी आउँदैछ। सबैजना भागौं। माथिको पुल पनि बगाइसक्यो,’ उनले भने।
त्यसपछि छोदेन परिवारसहित घर छाडेर नजिकैको जंगलतिर लागिन्। केहीबेरमै चामेमा पहिरोसहितको बाढी पस्यो। बाढीले घरहरूमा क्षति पुर्यायो। मनाङ प्रशासनका अनुसार चामेमा मात्रै ६ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
छोदेनको परिवारले मात्रै होइन, चामेका अधिकांश स्थानीय बासिन्दा, व्यवसायी र पर्यटकले पनि मध्यरातमा घर तथा होटल छाडेर ज्यान जोगाउनुपर्यो।
‘हामी घर छाडेर साढे ११ बजेतिर भागेका थियौं। १ बजेतिर पहिरो आएर घरहरूमा क्षति पुर्यायो,’ छोदेनले भनिन्, ‘हामी मात्र होइन, चामेका सबैजना र पर्यटक पनि हामीसँगै भागेर ज्यान जोगाएका हुन्।’
पहिरो र बाढीले घरहरूमा क्षति पुर्याएपछि केही समय बाढी थामिएको थियो। त्यसपछि उनीहरू जंगलबाट केही तल ओर्लिए। तर बिहान करिब ३ बजेतिर फेरि बाढी आएको छोदेनले बताइन्।
‘बिहान ३ बजेतिर होला, फेरि बाढी आएर हाम्रा घरहरू डुबायो। अब घर बस्न सक्ने अवस्था छैन,’ उनले भनिन्।
चामे गाउँपालिकाकी जनस्वास्थ्य अधिकृतसमेत रहेकी छोदेनका अनुसार बाढी र पहिरोबाट जोगिन वृद्धवृद्धादेखि बालबालिकासम्मलाई रातभर जंगलमा बस्नुपरेको थियो। नेपाल घुम्न आएका विदेशी पर्यटकहरू पनि मध्यरातमा चामेको चिसोमा जंगलतिर भाग्नुपरेको उनले बताइन्।
‘हामीसँग करिब १५/२० जना विदेशी पर्यटक थिए। हामीले जंगलमा आगो बाल्यौं र पर्यटकलाई पनि आगो ताप्न बोलायौं,’ उनले भनिन्, ‘विचरा विदेशी पर्यटकहरू रोइरहेका थिए।’
आगो ताप्ने क्रममा उनले एक जना अस्ट्रेलियाली पर्यटकसँग कुराकानी गरेकी थिइन्। ती पर्यटकले आफूहरूलाई भोलिपल्ट बिहान हेलिकप्टरबाट उद्धार गरिने जानकारी पाएको बताएका थिए।
छोदेनले चामेको अवस्थाबारे नेपाल सरकारलाई जानकारी गराइदिन पनि ती पर्यटकलाई आग्रह गरिन्।
‘मैले अस्ट्रेलियाका पर्यटकलाई चामेमा यस्तो हालत छ, हाम्रो नेपाल सरकारलाई भनिदिनु है भनेकी थिएँ,’ उनले भनिन्, ‘पर्यटकले ‘स्योर’ भनेका थिए।’
विश्वचर्चित अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङ हुँदै मनाङ र थोराङला पास गरेर मुस्ताङको मुक्तिनाथतर्फ जाने क्रममा ती पर्यटकहरू चामे पुगेका थिए। छोदेनका अनुसार शनिबार चामेमा करिब २५ जना पर्यटक थिए। आइतबार बिहान मौसम खुलेपछि उनीहरूको उद्धार सुरु गरिएको थियो। पर्यटकको बिमामार्फत उद्धारको व्यवस्था गरिएको उनले बताइन्।
बाढीका कारण चामेमा जोडिने विभिन्न खोला तथा खोल्सीमा ठूलो बहाव आएको थियो। चामे भएर मर्स्याङ्दी नदीमा मिसिने ठाडो खोलामा आएको बाढी बस्तीमा पसेको हो। मर्स्याङ्दी नदी र घट्टेखोला पनि उर्लिएको छोदेनले बताइन्।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार शनिबार बिहान करिब ६ बजेदेखि चामेको टेलिफोन नेटवर्कले काम गरेको छैन। बाढीका कारण विद्युत्का पोलहरू ढलेका छन्। विद्युत् आपूर्ति अवरुद्ध हुँदा सञ्चार सम्पर्कमा समेत समस्या भएको उनले बताए।
‘चामेमा बाढीले ६ घर पूर्ण रूपमा क्षतिग्रस्त छन्। बाटो पनि कति ठाउँमा पहिरो गएको छ भनेर यकिन गर्न सकिएको छैन,’ खनालले भने, ‘हिजोदेखि नेटवर्क नहुँदा समस्या भइराखेको छ।’
चामेमा साना–ठूला गरी चार वटा खोला तथा खोल्सी रहेको र ती सबैमा शनिबार राति बाढी आएको खनालले बताए। बाढीले दुई वटा काठे पुल र दुई वटा कजवे बगाएको छ।
मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडकसमेत ठाउँ–ठाउँमा पहिरो र बाढीका कारण क्षतिग्रस्त भएको प्रशासनले जनाएको छ। सञ्चार सम्पर्क विच्छेद भएकाले सडकको क्षतिको यकिन विवरण संकलन गर्नसमेत कठिनाइ भएको छ।
‘सानो खोलाले पनि ठूला ढुंगा ल्याएर बगाएको छ। सडकैभरि खोल्सा र पहिरो छन्,’ खनालले भने, ‘स्थलमार्गबाट मनाङ टुटेको छ।’
मनाङकै नासों गाउँपालिका–१ स्थित ताल गाउँमा पनि मर्स्याङ्दी नदीको डुबानका कारण घर तथा होटलहरू प्रभावित भएका छन्। हालसम्म मानवीय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी खनालले बताए।
-ink-1790499055.jpeg)
-ink-1790499055.jpeg)
-ink-1790499055.jpeg)
-ink-1790499055.jpeg)
-ink-1790499054.jpeg)
-ink-1790499054.jpeg)
-ink-1790499054.jpeg)
-ink-1790499054.jpeg)