मनाङ सदरमुकाम चामे भएर बग्ने खोलामा आएको पहिरोले मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिएको छ।
आइतबार साँझ गएको पहिरोले मर्स्याङ्दी थुनिएर ताल बनेको स्थानीय पालसाङ लामाले जानकारी दिए।
‘मर्स्याङ्दी नदीमा ठाडो खोलाबाट आएको बाढी र पहिरोले थुनिएको छ,’ उनले भने, ‘पानी थुनिएर नदी नै ताल बनेको छ।’
चामे भएर बहने ठाडो खोलामा आएको बाढी र पहिरोले गए राति ६ वटा घरमा क्षति पुर्याएको थियो।
बाढीका कारण चामेका स्थानीयवासी र पदयात्रामा गएका पर्यटकसमेत रातारात भागेर ज्यान जोगाएका थिए। सोही खोलामा फेरि आइतबार साँझ पहिरो र बाढी आएर मर्स्याङ्दी थुनिएको लामाले बताए।
नदी थुनिएर पारि रहेका एउटा घर र २ वटा होटल डुबानमा पर्न लागेको लामाले बताए। अहिले थुनिएको पानी एक्कासि फुट्यो भने तटीय क्षेत्र जोखिममा पर्न सक्ने उनले बताए।
चामेमा आएर मर्स्याङ्दीमा मिसिने खोला लमजुङ हिमालबाट हिउँ पग्लेर बनेको खोला हो। हिउँदमा निकै सानो भएर बहने भए पनि बर्खायाममा भने बर्सेनि बाढी बढेको लामाले बताए।
अहिले मर्स्याङ्दीमा झरेको पहिरो पनि चामेभन्दा माथिबाट ढिस्को खसेको थियो। पहिरोले चामेभन्दा माथि ठाडो खोला थुनिएको र बगेर मर्स्याङ्दी आइपुगेको उनले बताए।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले मर्स्याङ्दी आंशिक रूपमा थुनिएको बताए। खोलामा निरन्तर पानी बगिरहेकाले तत्काल जोखिम नभए पनि ठाडो खोला माथि ताल परेको हुन सक्ने उनको आशंका छ।
‘ठाडो खोलामा पहिरो आएर मर्स्याङ्दी अलिकति थुनियो। ठाडो खोला माथि कत्रो ताल परेछ, हेर्न सकिएन,’ उनले भने, ‘थुनिएको ठाउँबाट पानी बग्न थालेकाले तत्काल जोखिम नहोला।’
ठाडो खोलामा अझै बाढी र पहिरोको जोखिम रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र सजग रहन उनले आग्रह गरेका छन्।
गए राति खोलामा आएको बाढी र पहिरोले विस्थापित चामेका स्थानीयवासीलाई सरकारी कार्यालयहरूमा सुरक्षित राखिएको छ।