लगातार चार दिन परेको पानी रोकिएको छ।
पछिल्लो १२ घन्टामा केही स्थानमा छिटपुटदेखि हल्कामात्रै वर्षा भएको छ।
सोमबार बिहान काठमाडौं लगायतका भूभागमा हुस्सु लागेको छ।
अब ठूलो पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद बिनु महर्जनले जानकारी दिइन्।
उनका अनुसार चार दिनसम्म ठूलो पानी पारेको प्रणाली भारतको उत्तरप्रदेश आसपास भए पनि त्यसको प्रभाव कमजोर भइसकेको छ।
'त्यस्तो असर गर्ने देखिँदैन। पश्चिमतिर चाहिँ अलि अलि वर्षा हुन्छ। पहाडी भूभागमा पनि छ। तर अब ठूलो पानी पर्ने सम्भावना चाहिँ छैन,' उनले भनिन्।
महाशाखाको बुलेटिन अनुसार दिउँसो देशभर आंशिक बादल लाग्ने पूर्वानुमान छ।
हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
सुदुरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थान तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
सोमबार राति देशका हिमाली र पहाडी भू-भागमा तथा सुदुरपश्चिम र लुम्बिनी प्रदेशको तराई भु-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
देशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा राति पनि मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।