यातायात व्यवस्था कार्यालय रूपन्देहीबाट ७ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार यातायात व्यवस्था कार्यालयमा सेवा लिन आउने सेवाग्राहीसँग छिटो काम गराइदिने भन्दै रकम लिने तथा अनावश्यक दुःख दिने गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ बस्ने ४२ वर्षीय हेम प्रसाद भट्टराई, बुटवल उपमहानगरपालिका वडा नं. १३ बस्ने ४३ वर्षीय लक्ष्मी खनाल, ६२ वर्षीय खोमलाल भुसाल, बुटवल वडा नं. ८ बस्ने ५४ वर्षीय ऋषिराम खनाल, रूपन्देहीकै शुद्धोधन गाउँपालिका वडा नं. १ बस्ने ३१ वर्षीय विजय क्षेत्री छन्।
त्यस्तै, पाल्पाको बगनासकाली गाउँपालिका वडा नं.१ बस्ने ५३ वर्षीय प्ररमधोज श्रेष्ठ र गुल्मीको मालिका गाउँपालिका वडा नं. ५ बस्ने २३ वर्षीय मनोज अर्याल रहेका छन्।
पक्राउ परेकाहरूले कार्यालयमा सेवा लिन गएका सेवाग्राहीसँग काम छिटो गरिदिने भन्दै तोकिएको शुल्कभन्दा बढी रकम लिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।
उनीहरूलाई बुटवल उपमहानगरपालिका १३ स्थित यातायात व्यवस्था कार्यालयबाट प्रहरीले मङ्गलवार दिउँसो नियन्त्रणमा लिएको जनाएको छ। यसअघि पनि विभिन्न कार्यालयमा छिटो काम गरिदिने भन्दै सेवाग्राहीबाट बढी रकम असुल गर्ने र अनावश्यक दुःख दिने बिचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिने गरेको थियो।
अहिले पनि कतिपय कार्यालयहरूमा बिचौलियाहरूले दुःख दिने गरेको भन्दै सेवाग्राहीबाट गुनासो आउने गरेपछि सेवाग्राहीहरूको बढी भिडभाड हुने सरकारी कार्यालयहरूमा निगरानी बढाउने गरिएको प्रहरीले जनाएको छ।