पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले तीन वर्षभन्दा बढी समयदेखि जेलमा रहेका आफ्ना बुवालाई फेरि भेट्न पाउने आशा गुम्दै गएको बताएका छन्।
कान्छा छोरा कासिमले सीबीसी न्युजसँगको अन्तर्वार्तामा आफूलाई बुवासँग फेरि भेट हुने कुरा कल्पना गर्न समेत कठिन भइरहेको बताएका हुन्।
‘म उहाँलाई फेरि देख्न पाउनेछु भन्ने कल्पना गर्न मलाई गाह्रो भइरहेको छ,’ उनले भनेका छन्।
बुवालाई जेलबाट बाहिर निकाल्न आफूले केही गर्न सक्ने भए गर्न तयार रहेको पनि उनले बताएका छन्।
आफ्नो व्यक्तिगत दृष्टिकोणबाट भने इमरान खानले सरकारसँग कुनै सम्झौता गरेर भए पनि जेलबाट बाहिर आउनुपर्ने आफूले चाहेको कासिमको भनाइ छ।
‘स्वार्थी दृष्टिकोणबाट हेर्दा म उहाँले त्यो सम्झौता स्वीकार गरून् भन्ने चाहन्छु,’ उनले भने।
तर इमरान खान विरूद्धका मुद्दा टुंग्याएर उनलाई रिहा गर्ने विषयमा पाकिस्तान सरकारले वास्तवमै कुनै सम्झौताको प्रस्ताव गरेको हो कि होइन भन्ने स्पष्ट छैन।
इमरान खानको परिवारले उनीविरूद्ध लगाइएका आरोप राजनीतिक उद्देश्यबाट प्रेरित रहेको दाबी गर्दै आएको छ।
कासिमले आफू पछिल्लो सात महिनाभन्दा बढी समयदेखि बुवासँग प्रत्यक्ष कुराकानी गर्न नपाएको पनि बताए। त्यसैले पाकिस्तानभित्रको वास्तविक अवस्थाबारे आफूलाई पूर्ण जानकारी नरहेको उनले स्वीकार गरेका छन्।
उनका अनुसार पाकिस्तानको सर्वोच्च अदालतले उनीहरूलाई इमरान खानसँग कुराकानी गर्न दिन आदेश दिएको थियो। तर अदालतका आदेश सहित अन्य धेरै विषय कार्यान्वयन नभएको उनको दाबी छ।
‘म उहाँसँग कुरा गर्न चाहन्छु,’ कासिमले भनेका छन्, ‘उहाँ निकै दृढ इच्छाशक्ति भएको व्यक्ति हुनुहुन्छ। उहाँलाई थाहा छ, अन्य धेरै राजनीतिक बन्दी पनि छन्। अहिले हाम्रो परिवारका केही सदस्य पनि जेलमा छन्। त्यसैले उहाँका लागि सम्झौता स्वीकार गर्न सजिलो छैन।’
इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) दलले देशव्यापी प्रदर्शनको घोषणा गरेको दुई दिनपछि कासिमको यस्तो धारणा आएको हो। खानको रिहाइको माग गर्दै गर्न लागिएको प्रदर्शनलाई पिटिआईले पछि अक्टोबर ४ सम्मका लागि सारेको छ।
इमरान खानको जेल बसाइ र उनको दलमाथि लगाइएका प्रतिबन्ध तथा राजनीतिक दबाबका कारण पाकिस्तानमा लामो समयदेखि राजनीतिक तनाव रहँदै आएको छ।
खान हाल भ्रष्टाचार सम्बन्धी मुद्दामा जेल सजाय भोगिरहेका छन्। गत वर्ष उनलाई एउटा भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको थियो।
खानको परिवार र कानुनी टोलीले उनलाई जेलमा अमानवीय अवस्थामा राखिएको आरोप लगाउँदै आएका छन्। उनीहरूका अनुसार खान दिनमा करिब २३ घन्टा प्राकृतिक प्रकाश नपुग्ने सानो कोठामा बस्न बाध्य छन् र उनलाई अन्य कैदीसँग सम्पर्कको अवसर पनि दिइएको छैन।
तर पाकिस्तानी अधिकारीहरूले यी आरोप अस्वीकार गर्दै आएका छन्।
कासिम र उनका भाइ सुलेमान पाकिस्तान गएर आफ्ना बुवालाई भेट्न चाहन्छन्। तर उनीहरूका अनुसार पाकिस्तान सरकारले उनीहरूलाई भिसा दिएको छैन।
कासिमले राष्ट्रिय परिचयपत्रका आधारमा पाकिस्तान प्रवेश गरे आफूहरूलाई समेत पक्राउ गरेर इमरान खानमाथि दबाब सिर्जना गर्न प्रयोग गर्न सकिने आशंका व्यक्त गरेका छन्।
‘उनीहरूले हामीलाई जेलमा राखेर हाम्रा बुवामाथि दबाब दिने माध्यमका रूपमा प्रयोग गर्न सक्छन्,’ उनले भनेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)