मध्यराति सुतेकै ठाउँबाट दस वर्षीया बालिकालाई अपहरण गरी जंगलमा पुर्याएर बन्धक बनाउने युवकको आपराधिक पृष्ठभूमि रहेको खुलेको छ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–१७ दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारूलाई प्रहरीले आइतबार बिहान १ बजेतिर घुँडामुनि गोली हानेर नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार युवराजले बालिकालाई १४ गते मध्यराति घरभित्रै सुतिरहेको अवस्थामा अपहरण गरी नजिकैको चक्रहवा जंगलमा पुर्याएका थिए।
घरबाहिर हजुरबुबा र हजुरआमा सुतिरहेका बेला भाइसँगै खटियामा सुतिरहेकी बालिकालाई बिहान २ बजेतिर ओढ्ने ओढाइदिन गएकी आमाले नभेटेपछि उनको खोजी सुरू गरिएको थियो।
बालिका अपहरणमा परेको जानकारी पाएपछि प्रहरीले उनको खोजीका लागि व्यापक टोली परिचालन गरेको थियो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर, दाङको विशेष टोली, भैरहवा विमानस्थलको तालिमप्राप्त कुकुरसहितको टोली, जिल्ला प्रहरी कार्यालय रूपन्देही र मातहतका प्रहरी युनिटबाट गरी एक सय ५० भन्दा बढी प्रहरी जंगल क्षेत्रमा परिचालन गरिएको स्रोतले जनाएको छ। प्रहरीले चक्रहवा जंगललाई घेरा हालेर खोजी गरिरहेको थियो।
प्रहरीका अनुसार खाना र कपडा लिन घरतर्फ आउने क्रममा युवराजले प्रहरीलाई देखेपछि जंगलतिर भागेर उम्किएका थिए। त्यसअघि उनले भोकप्यासले लखतरान परेपछि बालिकालाई डरधम्की दिँदै त्यहीँ कतै नजानू भनेर जंगलमा छाडेर घरमा खाना र कपडा लिन गएको प्रहरीले जनाएको छ।
प्रहरीले शनिबार बेलुकीपख सोही जंगलबाट बालिकालाई सकुशल उद्धार गरेको थियो। उद्धार गर्दा बालिका भोकप्यासले लखतरान र बोल्न नसक्ने अवस्थामा थिइन्। उनी मानसिक रूपमा निकै भयभीत अवस्थामा रहेको उद्धारमा खटिएका प्रहरी अधिकारीले बताए।
उनको स्वास्थ्य परीक्षण गरी प्रहरीले अभिभावकको जिम्मा लगाइसकेको छ।
रूपन्देहीका प्रहरी प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार युवराज यसअघि पनि अभद्र व्यवहार सम्बन्धी मुद्दामा पक्राउ परेका थिए। उनी २०८० साउन १९ गते पक्राउ परी करिब महिनादिन प्रहरी हिरासतमा बसेका थिए।
'विगतमा उसका विरूद्ध मोटरसाइकल चोरी, मोबाइल चोरी, लुटपाट र अभद्र व्यवहार सम्बन्धी मुद्दाहरू चलेको पाइएको छ,' चन्दले भने, 'उसको विगत आपराधिक पृष्ठभूमिको छ।'
प्रहरीका अनुसार युवराजले विगतदेखि नै चोरी, लुटपाट लगायत आपराधिक गतिविधि गर्दै आफ्नो घरको ठीक पारिपट्टिको चक्रहवा जंगललाई लुक्ने ठाउँका रूपमा प्रयोग गर्दै आएका थिए।
महिला तथा बालबालिकामाथि दुर्व्यवहार र यौनहिंसाका साथै चोरी तथा लुटपाटका घटनापछि पनि उनले सोही जंगललाई प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको डिएसपी चन्दले बताए।
'यसपालि पनि उसले बालिका अपहरणपछि सोही जंगलमा पुर्याई बन्धक बनाएको अवस्थामा प्रहरीले सकुशल उद्धार गर्न सफल भएको हो,' चन्दले भने।
युवराज झाडी तथा जंगलमा लुकेर बस्ने भएकाले उनी पक्राउ परेपछि स्थानीयमा त्रास कम भएको अर्का एक अधिकारीले बताए।
ती प्रहरी अधिकारीका अनुसार युवराजले गाउँसमाजमा गुन्डागर्दी गर्दै आएको र आपराधिक गतिविधिबाट लाभ लिन्थे। उनले घरपरिवार र अभिभावकलाई समेत डरत्रासमा राख्ने गरेको स्थानीयले प्रहरीलाई बताएका छन्।
'कति कुरा भन्न मिल्दैन,' ती अधिकारीले भने, 'अन्य कसैप्रतिको यौन आशक्ति पूरा नहुँदा त्रास पैदा गर्न बालिका अपहरण गरेको खुलेको छ।'
युवराजले एक्लै महिला वा बालबालिका देखे लखेट्नेजस्ता गतिविधि गरेको अनुसन्धानबाट खुलेको अर्का प्रहरी अधिकारीले बताए।
अपहरणमा परेकी बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट आएको छैन।
डिएसपी चन्दका अनुसार युवराज मदिराले मातेको अवस्थामा बालिकालाई अपहरण गरी जंगलमा पुर्याएर बन्धक बनाएका थिए। उनको उपचार भइरहेको र थप कुरा बयानबाट खुल्ने प्रहरीले जनाएको छ।