बागलुङमा सडक स्तरोन्नतिका क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु भएको छ।
सोमबार बिहान ७:२० बजे निसीखोला गाउँपालिका-३ बोहोरागाउँमा सडक स्तरोन्नती गर्ने क्रममा माटोको ढिस्को खसेर पुरिएर दुई मजदुरको मृत्यु हो।
घटनामा एक जना मजदुर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर, गाईघाटका ३२ वर्षीय राजु थापामगर रहेका छन्।
दुवै जना माटोको ढिस्कोमा पुरिएको अवस्थामा फेला परेका हुन्।
झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका हुन्।
घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्ण बहादुर घर्ती गम्भीर घाइते भएका छन्। घाईतेलाई तत्काल उद्धार गरी बुर्तिबाङ अस्पताल पठाइएको छ।
घटनाबारे अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।