इसराइल पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्कालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार दिउँसो काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट रामेछापको सुनापतीकी खड्कालाई पक्राउ गरेको एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।
उनका अनुसार खड्काविरूद्ध जाहेरी परेकाले पक्राउ गरिएको हो।
खड्का हाल कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्यकी उम्मेदवार छिन्। उनीमाथि ठगी, आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढ्ने भएको छ।
प्रहरीले यही प्रकरणमा यसअघि भरत चौलागाईंसहित चार जनालाई पक्राउ गरिसकेको छ। रामेछापका जिल्ला नेता चौलागाईं पहिले कांग्रेस महाधिवेशन प्रतिनिधि पनि थिए।
चौलागाईंसहितले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग चिनजान रहेको भन्दै १५६ जनाबाट दुई करोड ५० लाख रूपैयाँभन्दा बढी ठगी गरेको आरोपमा जाहेरी परेको थियो।
नेपाल सरकार र इसराइल सरकारबीच जिटुजी प्रक्रियाअन्तर्गत केयरगिभरका लागि सन् २०२४ मा परीक्षा भएको थियो। त्यसमा तीन हजार ४६१ जना परीक्षार्थी उत्तीर्ण भएका थिए। उनीहरू होल्डमा थिए।
त्यसमध्ये १५६ जनालाई मन्त्रिपरिषदबाटै निर्णय गराएर इसराइल पठाइदिने झुटो आश्वासन दिई उनीहरूले पैसा उठाएको आरोप छ।
यही घटनामा प्रहरीले खड्कालाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।