नेपाली सेनाले भोटेकोशी करिडोरमा आएको बाढीपहिरोका कारण प्रभावित आयोजनाको सुरूङभित्र खोज तथा उद्धारका क्रममा ३७ जनाको शव फेला पारेको जनाएको छ।
नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सुरूङभित्रको अवस्था अत्यन्तै जोखिमपूर्ण र जटिल रहेको बताए।
शुक्रबार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै उनले सुरूङभित्र खोज तथा उद्धारका क्रममा ११ औं दिन एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको जानकारी दिए।
उनका अनुसार आयोजनामा कोरियन कम्पनीको स्वामित्व तथा कोरियन सब–कन्ट्र्याक्टरमार्फत काम भइरहेको थियो। त्यहाँ नेपाली र भारतीय कामदार कार्यरत थिए।
आयोजनाको दुई वटा ठूला कामदार क्याम्पसहित ड्याम साइट, पावरहाउस र अन्य क्षेत्रमा काम भइरहेको थियो। सहायक रथी थापाले आयोजनाको ९.७ किलोमिटर लामो सुरूङको नक्सा प्राप्त गरेपछि दुई जना इन्जिनियरसँग समन्वय गरी खोज तथा उद्धारको कार्ययोजना बनाइएको बताए।
उनकाअनुसार हेडवर्क र अडिट क्षेत्र तथा पावरहाउस क्षेत्रमा गरी ठूलो सङ्ख्यामा कामदार कार्यरत थिए।
उद्धार टोलीले प्रारम्भिक रेकीका क्रममा सुरूङभित्र प्रवेश गर्ने दुई वटा सम्भावित स्थान मात्रै फेला पारेको थियो। अन्य प्रवेश मार्गहरू अवरूद्ध थिए।
नेपाली सेना, चिनियाँ र कोरियन टोलीले संयुक्त रूपमा खोजी तथा उद्धारको काम अघि बढाएका थिए। पावरहाउस क्षेत्रमा कार्यरत १२० देखि १३० जना कामदारमध्ये ११० जनालाई ४८ घण्टाभित्र हेलिकप्टरमार्फत उद्धार गरिएको उनले जानकारी दिए।
उनकाअनुसार डिसेन्डर बेसिन क्षेत्रमा हेलिकप्टर अवतरण गर्न सम्भव थिएन। उद्धार टोलीले जोखिम मोलेर सुरूङभित्र प्रवेश गर्ने क्रममा अत्यधिक हिलो, साँघुरो बाटो र अक्सिजनको कमीको सामना गर्नुपरेको थियो। कतिपय ठाउँमा कम्प्रेसर मेसिनको सहायताले अवरोध हटाएर सुरूङभित्र प्रवेश गरिएको थियो। सहायक रथी थापाले सुरूङको माथिल्लो भागमा रहेको प्रोटेक्सन वर्कमा ढलानको काम भइरहेको स्थानबाट ११ औँ दिन एक चिनियाँ नागरिकलाई सकुशल उद्धार गर्न सफल भएको बताए।
त्यस्तै, अडिट–३ बाट अस्ट्रेलियन उद्धार टोलीको ड्रोनको सहायताले सुरूङभित्र करिब एक हजार ७०० मिटर अगाडिसम्मको अवस्था अध्ययन गरिएको थियो। त्यहाँ सुरूङ पूर्ण रूपमा अवरूद्ध भएको अवस्थामा भेटिएको थियो।
खोजीका क्रममा हेडवर्क क्षेत्रमा ठूला मेसिन, मिक्सर, एक्स्काभेटर र ट्रकहरू थुप्रिएको अवस्थामा भेटिएको र त्यस क्षेत्रमा ३७ जनाको शव फेला परेको उनले जानकारी दिए।
थापाका अनुसार सुरूङभित्रको अवस्था हेर्दा प्रारम्भिक झड्कामै ठूलो क्षति भएको हुनसक्ने देखिएको थियो।
उनले हाल पनि खोज तथा उद्धारको काम जारी रहेको बताए।
हेडवर्कबाट अडिट–३ हुँदै करिब १.७ किलोमिटर भित्रसम्म पुगे पनि त्यसपछिको क्षेत्रमा जान सक्ने अवस्था नरहेको उनको भनाइ छ।
सुरूङको करिब चार किलोमिटर क्षेत्रमा २१ फिटको सुरूङमा १७ फिटसम्म पानी र लेदो जमेको अवस्थामा रहेको उनले जानकारी दिए। अडिट–१ क्षेत्रबाट विस्फोट गराएर पानी निकाल्न सकिन्छ कि भन्ने विषयमा आयोजना तथा इन्जिनियरिङ टोलीसँग छलफल भइरहेको पनि उनले बताए।
हाल उक्त क्षेत्रमा नेपाली सेनाका ४२ जना जनशक्ति परिचालन गरिएको सहायक रथी थापाले जानकारी दिए। —न्युज एजेन्सी नेपाल