विभिन्न क्षेत्रका विज्ञहरूले कृत्रिम बुद्धिमत्ता (एआई) का कारण रोजगारी गुम्ने चिन्ताभन्दा यसको सही प्रयोग गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
डिजिटल मिडिया फाउन्डेसनद्वारा शनिबार राजधानीस्थित होटल हिमालयमा आयोजित ‘नेसनल एआई समिट २०२६’ मा उनीहरूले एआईलाई मानिसको विकल्पका रूपमा नभई कामलाई प्रभावकारी बनाउने उपकरणका रूपमा प्रयोग गर्नुपर्ने बताउँदै शिक्षा प्रणाली, पाठ्यक्रम र सीप विकासमा समयानुकूल परिवर्तन आवश्यक रहेको औँल्याए।
सहभागी विज्ञहरूले एआईको बढ्दो प्रयोगले रोजगारीको स्वरूपमा परिवर्तन ल्याउने भए पनि प्रविधिलाई बुझ्न, प्रयोग गर्न र त्यसबाट निस्कने नतिजाको मूल्यांकन गर्न सक्ने जनशक्तिका लागि अवसर अझै विस्तार हुने धारणा उनीहरूको थियो।
जापानको वासेदा विश्वविद्यालयका सहप्राध्यापक डा विकास लम्सालले एआईमा पूर्ण निर्भर हुनुभन्दा यसको प्रयोग गर्ने र त्यसबाट प्राप्त नतिजाको सत्यता जाँच्न सक्ने क्षमता विकास गर्नुपर्ने बताए।
एआईले उपलब्ध गराएको सामग्री जस्ताको तस्तै प्रयोग गर्ने प्रवृत्तिले जनशक्तिको रोजगारी जोखिममा पार्न सक्ने भए पनि एआईले गरेका गल्ती पहिचान गर्न, नतिजाको विश्लेषण गर्न र वास्तविक अनुसन्धानका जटिल समस्या समाधान गर्न सक्ने व्यक्तिको आवश्यकता भने कायमै रहने उनले स्पष्ट गरे।
‘एआईलाई चलाउन सक्ने क्षमता चाहिन्छ। एआईलाई चेक गर्न सक्ने वा प्रयोग गर्न सक्ने क्षमता चाहिन्छ,’ लम्सालले भने, ‘डेभलपरले जस्ताको त्यस्तै कपी पेस्ट गरेको अवस्थामा चाहिँ जागिर जान सक्छ। एआईको गल्ती पत्ता लगाउन सक्ने मानिसको जागिर जाँदैन।’
नेपालको शिक्षा प्रणाली र पाठ्यक्रमसमेत समयानुकूल परिवर्तन गर्नुपर्ने उनको सुझाव थियो। एआईको प्रभावकारी प्रयोगका लागि उपयुक्त मार्गदर्शन, पाठ्यक्रम र तालिम आवश्यक रहेको उनले बताए।
नेपाल र अमेरिकामा कार्यक्षेत्र रहेको सफ्टवेयर कम्पनी एक्वोर एलएलसीका सहसंस्थापक सन्दीप आचार्यले नयाँ प्रविधिको आगमनलाई रोजगारी गुम्ने जोखिमका रूपमा मात्र हेर्न नहुने बताए।
कम्प्युटर र औद्योगिक प्रविधिको विकास हुँदा पनि रोजगारीका स्वरूप परिवर्तन भएको तर, त्यसले नयाँ अवसर र सम्भावनाको ढोका खोलेको चर्चा उनले गरे। एआईले चुनौती ल्याउने भए पनि मानिसको सिर्जनात्मक क्षमता र नयाँ कुरा खोज्ने प्रवृत्तिलाई विस्थापित गर्न नसक्ने उनको भनाइ थियो।
‘हरेक नयाँ चिज आउँछ, त्यसले जब जाने होइन, बढाउँछ,’ आचार्यले भने, ‘नयाँ कुरा खोज्ने मान्छे सधैं क्रियटिभ हुन सक्छ। क्रियसन घटाउँदैन। चुनौती त ल्याउँछ नै।’
एआईको प्रयोगले रोजगारीको स्वरूपमा परिवर्तन ल्याए पनि त्यसलाई कसरी उपयोग गरिन्छ भन्ने कुराले भविष्य निर्धारण गर्ने उनले बताए।