बाराको कोल्हवीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
शनिबार साँझ करिब साढे ७ बजे कोल्हवी नगरपालिका–२ न्यौपाने टोलस्थित तामागढी–कोल्हवी भित्री सडकखण्डमा म.प्र.०३-०३३ प ४८६४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।
दुर्घटनामा कोल्हवी नगरपालिका–२ का २८ वर्षीय अमित मोक्तानको मृत्यु भएको छ।
टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्याइएको थियो। अस्पतालमा राति ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा सोही ठाउँका २४ वर्षीय मनिष तामाङ र २५ वर्षीय मनोज लामा घाइते भएका छन्। दुवैको टाउकोमा चोट लागेको छ।
उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकलमा तीन जना सवार थिए। मोटरसाइकल तामागढीबाट कोल्हवीतर्फ आउँदै गर्दा दुर्घटना भएको हो।
मोटरसाइकल चालक को थिए भन्ने खुलेको छैन।