दैलेखको ठाँटीकाँध गाउँपालिकामा छिमेकीको घरमा पसेर हँसिया प्रहार गर्दा गम्भीर घाइते भएकी एक जनाको मृत्यु भएको छ। घटनामा घाइते भएका अन्य चार जनालाई हेलिकोप्टरमार्फत सुर्खेत लगिएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) श्रवनकुमार विकका अनुसार ठाँटीकाँध गाउँपालिका–४ धनकोटका ३७ वर्षीय बमबहादुर रावतले आइतबार बिहान करिब ५ बजेतिर छिमेकी चन्द्रबहादुर पुन मगरको घरमा पसेर परिवारका सदस्यमाथि अन्धाधुन्ध हँसिया प्रहार गरेका थिए।
रावतको आक्रमणबाट चन्द्रबहादुरकी ४५ वर्षीया श्रीमती बिमा मगरको मृत्यु भएको हो। उनलाई जिल्ला अस्पताल दैलेखले मृत घोषणको गरेको डिएसपी विकले जानकारी दिए।
उनका अनुसार चन्द्रबहादुर पुन मगरको भाइबुहारी २५ वर्षीया महेसरा पुन, छोरीहरू २० वर्षीया लक्ष्मी पुन र २३ वर्षीया तिला पुन मगर घाइते भएका थिए। यस्तै, सुत्केरी तिलाकी ३ महिनाकी नाबालिका छोरी जानकी रोक्का मगर पनि हँसिया प्रहारबाट घाइते भएका छन्।
घाइते सबैको सुरुमा ठाँटीकाँध–१ स्थित लकान्द्र स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो। गम्भीर घाइतेहरूलाई हेलिकोष्टरमार्फत थप उपचारका लागि सुर्खेत लगिएको छ।
एकाबिहानै घरभित्रै पसेर सुत्केरी तथा नाबालिकासहित महिलाहरूमाथि निर्मम आक्रमण गर्ने रावतलाई प्रहरीले घटनालगत्तै नियन्त्रणमा लिइसकेको छ। आक्रमणको कारण हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।