पूर्वी नवलपरासीको कावासोतीमा बस दुर्घटना हुँदा घाइते हुनेको संख्या ३३ पुगेको छ। प्रहरीले घाइते सबैको पहिचान खुलाएको छ।
सोमबार बिहान ६ः४० बजे कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस दुर्घटना भएको थियो। चालकले नियन्त्रण गुमाउँदा बस सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ।
बसमा चालकसहित ४१ जना सवार थिए।
घाइतेमध्ये एक जनालाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज र ३२ जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइते हुनेमा कैलालीका शिवदत्त राना, डम्बरबहादुर माली, खेमा मल्ल, शोभा मल्ल, चाँदनी खत्री र जानु चौधरी छन्। त्यस्तै दार्चुलाका केशव धामी, प्रतिक्षा धामी, दयाकृष्ण जोशी, नविना भट्ट, रोहित लोथेल, रमेश जोशी र श्रुती जोशी घाइते भएका छन्।
बैतडीका धाना चन्द, प्रेमबहादुर चन्द, राजेन्द्र जोशी, भागरथी जोशी, रेणुका जोशी र महेश बिसी घाइते भएका छन्। डडेल्धुराका महेश पाण्डे, डम्बर सिंह साउद, गीता कठायत, रक्षा कठायत, पुष्पा भाट र पवित्रा रावल पनि घाइते भएका छन्।
त्यसैगरी कञ्चनपुरका जेनी राना र प्रिया साउद, डोटीका बसन्त बलायर, अंकित यादव, ज्योति बुडाल र धिरज बुडाल, अछामका अमित साउद तथा धनुषाका भानु यादव घाइते भएका छन्।
बसका चालक कैलालीको लम्कीचुहा नगरपालिका–१० का ४७ वर्षीय ठग्गराम डगौरा थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।