सोलुखुम्बुको आमादब्लम बेसक्याम्पबाट दिङ्बोचे जाने क्रममा हिमपातमा परेर बाटो बिराएका एक स्पेनिस नागरिकको प्रहरीले सकुशल उद्धार गरेको छ।
खुम्बुपासाङल्हामु गाउँपालिका–४ स्थित बनाना लेक क्षेत्रमा आइतबार साँझ उनी अलपत्र परेका थिए । रात पर्न थालेको र लगातार हिमपात भइरहेका कारण गन्तव्यतर्फ जाने बाटो पहिल्याउन नसकेपछि उनी समस्यामा परेका थिए ।
उनी अलपत्र परेको सूचना प्रहरीमा पुगेपछि खोजी तथा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले खोजी गर्ने क्रममा करिब दुई घण्टापछि उनलाई सकुशल फेला पारेको थियो ।
त्यसपछि उनको उद्धार गरिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।