शौचालयबाट निस्कने दिसाजन्य फोहोर, गाईवस्तुको गोबर र वनमारालाई प्रशोधन गरेर बुटवलमा जैविक मल उत्पादन गर्न थालिएको छ।
फोहोर व्यवस्थापनलाई चुनौतीका रूपमा लिइरहेका बेला निजी क्षेत्रको लगानीमा सुरू भएको यो उद्योगले फोहोरलाई आम्दानीको स्रोत वनाउने प्रयास गरिरहेको छ।
बुटवलमा दिसाजन्य फोहोर व्यवस्थापन गर्दै आएको बुटवल सेनिटरी प्रालिले २०७८ सालदेखि जैविक मल उत्पादन सुरू गरेको हो।
बुटवल र तिलोत्तमा क्षेत्रबाट दैनिक ३२ हजार लिटर दिसाजन्य फोहोर व्यवस्थापन गर्दै आएको उद्योगले रोजगारी सिर्जनासँगै वन संरक्षण र दिगो कृषिमा समेत योगदान पुर्याउने गरी जैविक मल उत्पादन गर्न थालेको हो।
बढ्दो जनसङ्ख्या र अव्यवस्थित सहरीकरणसँगै फोहोर व्यवस्थापन स्थानीय तहका लागि टाउको दुखाइको विषय वन्दै गएको छ।
विशेष गरी घरघरका शौचालयबाट निस्कने दिसाजन्य फोहोरको सुरक्षित व्यवस्थापन चुनौतीपूर्ण छ।
अधिकांश सेनिटरीहरूले घरघरका शौचालयबाट निकालेको फोहोरलाई वन क्षेत्रमा लगेर सिधै फाल्दै आएका छन्।


दिशाजन्य फोहोरलाई वन क्षेत्रमा लगेर सिधै फाल्दा वातावरण प्रदूषण हुने भएपछि फोहोरलाई प्रशोधन गरेर खेतबारी र नर्सरीमा प्रयोग गर्न सकिने जैविक मल उत्पादन गर्न थालिएको बुटवल सेनिटरी प्रालिका अध्यक्ष यामबहादुर थापाले जानकारी दिए।
बुटवल सेनिटरी प्रालि अन्तर्गत सञ्चालित नेपाल बायो कम्पोस्टले शौचालयबाट सङ्कलन हुने दिसाजन्य फोहोर, गाईबस्तुको गोबर र वनमा पाइने वनमारा तथा पातपतिङ्गरको उपयोग गरी जैविक मल उत्पादन गरिरहेको छ। फोहोरलाई विसर्जन गर्नुपर्ने वस्तुका रूपमा मात्र नहेरी उपयोगी स्रोतका रूपमा प्रयोग गर्ने उद्देश्यले उद्योग सञ्चालन गरिएको हो।
शङ्करनगर सामुदायिक वन र रामनगर सामुदायिक वनको बिचमा पर्ने वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको पाँच कठ्ठा क्षेत्रफलमा सञ्चालित उद्योगले २०७८ सालदेखि दिसाजन्य फोहोर व्यवस्थापनको काम सुरू गरेको थियो। अनुसन्धान केन्द्रले उक्त जग्गा संरक्षणका लागि रामनगर सामुदायिक वनलाई दिएको थियो।
बुटवल सेनिटरी प्रालिले रामनगर सामुदायिक वनसँग सँग सम्झौता गरेर सोही जग्गामा नेपाल बायो कम्पोस्टका नामबाट जैविक मल उत्पादन सुरू गरेको हो।
‘हामीले २०७८ सालमा रामनगर सामुदायिक वनसँग सम्झौता गरेर जैविक मल उत्पादन सुरू गरेका थियौँ। लामो समय प्लान्ट स्थापनामा बिते पनि एकबर्ष देखि मल उत्पादन गरी बजार पठाउने गरेका छौँ,’ प्रालिका अध्यक्ष थापाले भने।
थापाका अनुसार मल उत्पादनका लागि वन क्षेत्रमा एक लाख लिटर क्षमताको ट्रिटमेन्ट प्लान्ट निर्माण गरिएको छ।
उद्योगले अहिले बुटवल दैनिक करिब ३२ हजार लिटर दिसाजन्य फोहोर सङ्कलन तथा व्यवस्थापन गर्दै आएको छ। सङ्कलित दिसाजन्य फोहोरमा गाईबस्तुको मल, पातपतिङ्गर र वनमारालाई प्रशोधन गरी धुलो तयार गर्ने र त्यसमा पिना, हड्डी लगायतका वस्तुहरू मिसाएर मल तयार हुने गरेको थापाले बताए
‘फोहोर व्यवस्थापनको समस्यालाई समाधान गर्ने र कृषि क्षेत्रमा रासायनिक मलको प्रयोग घटाउन सहयोग पुर्याउने हाम्रो उद्देश्य हो, ‘बजारमा पठाउन थालेको एक वर्ष अझै पुगेको छैन तर पनि राम्रो प्रतिक्रिया आउने गरेकोले हामीलाई उत्साह थपिएको छ,’ उनले भने।
‘हामीले फोहोरलाई समस्याका रूपमा मात्र हेर्नु हुँदैन, यसलाई सदुपयोग गर्न सकिने स्रोतका रूपमा लिनुपर्छ। एकातिर शौचालयबाट निस्कने दिसाजन्य फोहोरको व्यवस्थापन भइरहेको छ भने अर्कोतिर गाईको गोबर र वनमारा मिसाएर जैविक मल उत्पादन गरिरहेका छौँ,’ अध्यक्ष थापा भन्छन्, ‘यसले वातावरण संरक्षण र कृषि उत्पादन दुवै क्षेत्रमा सहयोग पुर्याउने अपेक्षा गरेका छौँ।’
उद्योगमा फोहोरबाट मल वनाउने प्रक्रिया पनि फरक छ। सङ्कलित दिसाजन्य फोहोरलाई मेसिनको सहायताले प्रशोधन गरी धुलो निकालिन्छ। त्यसमा गाईबस्तुको गोबरसँगै पातपतिङ्गर र वनमाराको धुलो, पिना, हड्डीको धुलो, निम तथा सुर्तीको धुलो मिसाइन्छ। मलमा आवश्यक सूक्ष्म जीवाणुको विकासका लागि इएम (ईएम) समेत प्रयोग गरिन्छ।
यसरी तयार पारिएको मिश्रणलाई करिब ४५ दिनसम्म कुहाएर प्रशोधन गरिन्छ। त्यसपछि तयार भएको मल सुनवलस्थित प्रयोगशालामा परीक्षण गरिन्छ। परीक्षणबाट गुणस्तर सुनिश्चित भएपछि मात्र प्याकेजिङ गरेर बजारमा पठाउने गरिएको अध्यक्ष थापाले बताए।
पछिल्लो एक वर्षदेखि बजारमा बिक्री सुरू गरेको उद्योगले अहिले मासिक करिब १० टन जैविक मल उत्पादन गरिरहेको छ। उत्पादित मल एक, पाँच र २५ किलोका प्याकेटमा बिक्री गरिन्छ। उद्योगले प्रतिकिलो मल उत्पादन गर्दा २८ देखि ३० रुपैयाँ लागत पर्ने जनाएको छ। बजारमा एक किलोको प्याकेट ५० रुपैयाँ र पाँच किलोभन्दा बढी खरिद गर्ने ग्राहकलाई प्रतिकिलो ४० रुपैयाँका दरले बिक्री गर्दै आएको छ। अहिले रूपन्देहीका विभिन्न नर्सरीमा मल बिक्री भइरहेको छ।
पर्याप्त उत्पादन हुन नसकेका कारण अन्नबालीका लागि ठूलो परिमाणमा मल बिक्री वितरण गर्न भने नसकिएको थापाले बताए।
तर स्याङ्जा र गुल्मीका सुन्तला किसानले परीक्षणका रूपमा प्रयोग गर्दा राम्रो नतिजा आएको भन्दै यस वर्ष पनि मलको माग गरेका छन्। यसले उद्योगलाई आगामी दिनमा कृषि क्षेत्रमा बजार विस्तार गर्ने सम्भावना देखाएको छ।
मल उत्पादन र बिक्री वितरणको काममा अहिले पाँच जना व्यवसायी आबद्ध छन्। उद्योगमा नियमित रूपमा १३ जनाले रोजगारी पाएका छन्। वनमा पातपतिङ्गर सङ्कलन गर्ने र वनमारा काट्ने समयमा थप १५ देखि २० जनाले काम पाउने गरेका छन्। यसरी उद्योगले प्रत्यक्ष रोजगारीसँगै स्थानीय स्तरमा मौसमी रोजगारीको अवसरसमेत सिर्जना गरेको छ।
उद्योगको योगदान जैविक मल उत्पादनमा मात्र सीमित छैन। वन क्षेत्रमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति नियन्त्रण गर्न र पातपतिङ्गर तथा झाडीका कारण हुन सक्ने आगलागीको जोखिम घटाउनसमेत सहयोग पुगेको अध्यक्ष थापाको दाबी छ। वनमा पाइने वनमारा र अन्य जैविक पदार्थलाई सङ्कलन गरी मल उत्पादनमा प्रयोग गरिएकाले वन व्यवस्थापन र फोहोरको पुनः प्रयोगलाई एकैसाथ अघि बढाइएको छ।
परियोजना सञ्चालनका लागि रामनगर सामुदायिक वनसँग गरिएको सम्झौता अनुसार कम्पनीले मासिक ३५ हजार रुपैयाँ भाडा र मल बिक्रीबाट हुने नाफाको ५० प्रतिशत सामुदायिक वनलाई उपलब्ध गराउने सहमति गरेको थियो। तत्कालीन अध्यक्ष क्याप्टेन किशन थापाको कार्यकालमा सामुदायिक वनको साधारण सभाबाट निर्णय भएपछि परियोजना अघि बढाइएको थियो।


प्लान्ट निर्माणमा करिब तीन करोड रुपैयाँ र सडक निर्माणमा थप २५ लाख रुपैयाँ खर्च भएको अध्यक्ष थापाले जानकारी दिए। लकडाउनका कारण उद्योग सञ्चालनमा सुरूवाती चरणमा विभिन्न समस्या आए पनि अहिले यसलाई व्यावसायिक रूपमा स्थापित गर्ने प्रयास भइरहेको छ।
तर तीन करोड रुपैयाँभन्दा बढी लगानी भएको उद्योगका लागि दीर्घकालीन सञ्चालनको सुनिश्चितता भने अझै चुनौतीपूर्ण छ। राष्ट्रिय वन अनुसन्धान अन्तर्गतको क्षेत्रमा उद्योग सञ्चालन भइरहेको भए पनि जग्गाको भोगाधिकार र व्यवस्थापन सम्वन्धी स्पष्ट नीतिगत व्यवस्था नहुँदा समस्या देखिएको थापाले बताए।
स्थानीय सरकारले व्यवस्थापन गर्नुपर्ने शौचालयजन्य फोहोर निजी क्षेत्रले लगानी गरेर सङ्कलन तथा प्रशोधन गरिरहेको अवस्थामा यस्ता उद्योगलाई नीतिगत सहजीकरण र प्रोत्साहन आवश्यक रहेको सञ्चालकको भनाइ छ।
शौचालयबाट निस्कने फोहोरलाई खोलानाला वा अन्यत्र विसर्जन गर्नुपर्ने बाध्यतालाई घटाउँदै त्यसैबाट कृषि प्रयोजनको मल उत्पादन गर्नु आफैमा फरक अभ्यास हो। फोहोर व्यवस्थापनलाई खर्चिलो दायित्वका रूपमा मात्र बुझिरहेको समाजमा बुटवलको यो प्रयासले त्यसलाई आर्थिक गतिविधि र रोजगारीसँग जोड्न सकिने सम्भावना देखाएको छ।
उचित नीति, प्राविधिक सहयोग र बजार विस्तार हुन सके दिसाजन्य फोहोरबाट जैविक मल उत्पादन गर्ने यस्तो अभ्यास अन्य सहरका लागि पनि उपयोगी बन्न सक्छ।




