महोत्तरीमा गत भदौमा एक युवकको हत्या भएको घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन्।
भंगाहा नगरपालिका-६ का २२ वर्षीय विवेक कुमार सरदारको हत्या भएको घटनामा मुख्य अभियुक्त बलवा नगरपालिका-७ बनौटा गाउँका ३४ वर्षीय जितेन्द्र कुमार ठाकुर पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनलाई जलेश्वर नगरपालिका-३ मालिवारा क्षेत्रबाट बुधबार पक्राउ गरिएको हो।
प्रहरीका अनुसार विवेक र जितेन्द्रकी २२ वर्षीया श्रीमती सोनु कुमारी ठाकुरबीच प्रेम सम्बन्ध थियो।
यही सम्बन्धका कारण जितेन्द्रको परिवारले विवेकको हत्या गरी शवलाई ९ टुक्रा पारेर सेप्टिक ट्यांकीमा लुकाएका थिए।
गत भदौ १५ गते दिउँसो विवेक जलेश्वर नगरपालिका–११ पिगौनस्थित दिदीको घरबाट मोटरसाइकल लिएर आफ्नो घर जान हिँडेका थिए।
तर उनी घर नपुगेपछि परिवारले भोलिपल्ट प्रहरीमा खोजतलासका लागि निवेदन दिएको थियो।
प्रहरीले सिसिटिभी फुटेज र प्राविधिक विश्लेषणबाट अनुसन्धान गर्दा विवेक घटनाकै दिन बलवा नगरपालिका–७ स्थित बनौटा गाउँबाट हराएको खुलेको थियो।
प्रहरीको अनुसन्धानबाट विवेकलाई योजनाअनुसार जितेन्द्रको घरमा बोलाइएको थियो।
त्यसपछि उनलाई भाग्न नदिई हत्या गरिएको र शवलाई धारिलो हतियारले ९ टुक्रा पारिएको थियो।
टुक्रा पारिएको शव घर पछाडिको शौचालयको सेफ्टी ट्यांकीमा लुकाएर राखेको अवस्थामा फेला परेको थियो।
घटनामा संलग्न रहेको आरोप लागेका जितेन्द्र त्यसयता फरार थिए।
उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिल कार्यालयमार्फत महोत्तरी जिल्ला अदालतमा पेस गरिएको छ।