राजाको निधनपछि उनको सेवामा खटिने सेवकहरूको जीवन के हुन्थ्यो?
सहज जबाफ हो — सेवाबाट बिदाइ।
सोच्नुहोस् त, राजाको निधनसँगै सेवकहरूले पनि मृत्यु वरण गर्नुपरे के होला?
यो कुनै काल्पनिक कथा होइन।
आजभन्दा करिब ५ हजार वर्षअघि इजिप्टमा यस्तो अभ्यास रहेको संकेत अनुसन्धानले दिएको छ।
राजाको मृत्युपछि उनको सेवामा रहेका केही मानिसको पनि ज्यान लिइन्थ्यो भन्ने व्याख्यालाई नयाँ प्रमाणले बल दिएको हो।
इजिप्टको अबाइडोसमा राजकीय अन्त्येष्टि परिसर वरिपरि गाडिएका मानिसका खप्परमा त्यस्तो प्रमाण भेटिएको छ।
अमेरिकाको पर्ड्यु विश्वविद्यालयकी अनुसन्धानकर्ता रोजलिन ए क्याम्पबेलले अध्ययन गरेका ४६ खप्परमध्ये १८ वटामा मृत्युको समय आसपास लागेका गम्भीर चोट पहिचान गरेकी छन्। यो अध्ययन गरिएका नमूनाको करिब ३९ प्रतिशत हो।
ती चोट उनीहरूको मृत्युको कारण हुन सक्ने अध्ययनले देखाएको छ।
क्याम्पबेलको अनुसन्धानात्मक लेख यही अक्टोबर ५ मा वैज्ञानिक जर्नल 'फ्रन्टियर्स इन इन्भाइरोन्मेन्टल आर्कियोलोजी' मा प्रकाशित भएको छ। पुराना मानव अवशेषमाथि यसअघि भएका अध्ययन समेत समेटिएको यो लेखले इजिप्टमा मानव बलिबारे लामो समयदेखि चलिरहेको बहसलाई फेरि सतहमा ल्याएको छ।
यो कथाको सुरूआत करिब एक शताब्दीअघि भएको थियो।
सन् १९२० को दशकमा पुरातत्त्वविद फ्लिन्डर्स पेट्रीले अबाइडोसका प्राचीन अन्त्येष्टि परिसर उत्खनन गरेका थिए। त्यहाँ शासकका ठूला संरचनासँगै अरू मानिसका साना चिहान पनि भेटिए। कतिपय परिसरमा यस्ता चिहान सयौं संख्यामा थिए।
फ्रन्टियर्सले सार्वजनिक गरेको अनुसन्धान अनुसार ती साना चिहानमा सामान्य कफिन, माटाका भाँडा, तामाका औजार र अरू साना वस्तु भेटिएका थिए। केही चिहानमा व्यक्तिका नाम र पद समेत उल्लेख थिए। ती पदले उनीहरू दरबारका तल्लो वा मध्यम तहका अधिकारी तथा शिल्पकार भएको संकेत गर्थे।
दरबारमा काम गर्ने यति धेरै मानिसलाई शासकको अन्त्येष्टि गरिएकै ठाउँमा किन गाडियो?
यसको उत्तर खोज्दै जाँदा पेट्रीलाई शंका भयो — कतै ती मानिसलाई राजाको निधनपछि बलि दिइएको त होइन?
तर यसलाई पुष्टि गर्न उनले हड्डीमा ज्यान जाने गरी लागेको चोटको स्पष्ट प्रमाण भेटेनन्।
पेट्रीले जबाफ खोज्न नसकेको यही प्रश्न क्याम्पबेलले पछ्याइन्।
पेट्रीले उत्खननमा भेटिएका धेरै हड्डी फेरि त्यहीँ गाडेका थिए। केही खप्पर भने बेलायत लगिएका थिए। क्याम्पबेलले क्याम्ब्रिज विश्वविद्यालयको डकवर्थ संग्रहमा रहेका तिनै खप्पर फेरि जाँचिन्।
उनको ध्यान खप्परमा देखिएका चिरामा गयो।
पहिले प्राकृतिक रूपमा हड्डी बिग्रिएर बनेको भन्ठानिएका ती चिरा कतै चोटका निसान त थिएनन्?
नभन्दै क्याम्पबेलको अध्ययनले केही चिरा मृत्युकै आसपास लागेका चोटबाट बनेको देखायो।
त्यसमध्ये खप्परमा देखिएका लामा चिरा सबभन्दा प्रमुख थिए। केहीमा धारिलो वस्तुले पुर्याएको चोट पनि देखियो।
यसै आधारमा क्याम्पबेलले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम 'सिएनएन' सँगको कुराकानीमा चोटका निसान र चिहानसम्बन्धी प्रमाण सँगै राखेर हेर्दा कम्तिमा केही व्यक्तिलाई मारेर राजकीय अन्त्येष्टि परिसर वरिपरि गाडिएको व्याख्याले बल पाउने बताएकी छन्।
तर सयौं चिहानमा रहेका सबै व्यक्तिलाई बलि नै दिइएको थियो भन्ने निष्कर्ष निकाल्न नमिल्ने उनले स्पष्ट पारेकी छन्।
उनका अनुसार तीमध्ये कसैको प्राकृतिक मृत्यु भएको हुन सक्छ। कसैलाई हड्डीमा निसान नरहने तरिकाले मारिएको पनि हुन सक्छ। उपलब्ध प्रमाणले हरेक व्यक्तिको मृत्यु कसरी भयो भनेर नखुल्ने उनको भनाइ छ।
त्यसो भए राजाको मृत्युपछि अरू मानिसलाई किन सँगसँगै मारियो होला त?
क्याम्पबेलले फ्रन्टियर्सलाई दिएको व्याख्या अनुसार यसको एउटा सम्भावित कारण परलोकप्रतिको विश्वास हो।
यो जीवनमा शासकको सेवा गर्ने मानिसले मृत्युपछि पनि उनको सेवा गरिरहन्छ भन्ने सोचले यस्तो प्रथा चलेको हुन सक्ने उनको भनाइ छ।
उनका अनुसार यसमा धार्मिक विश्वाससँगै शासकको शक्ति देखाउने उद्देश्य पनि हुन सक्छ। कसलाई जीवित राख्ने र कसको जीवन अन्त्य गर्ने भन्ने निर्णय समेत शासकले गर्न सक्छन् भन्ने सन्देश यस्तो अभ्यासले दिन सक्थ्यो।
यी मानिस मर्न तयार भएका थिए वा बाध्य पारिएका थिए? उनीहरूलाई कसरी छानिएको थियो?
हड्डीको अध्ययनले यी प्रश्नको उत्तर दिँदैन।
अध्ययनमा सहभागी नभएका विशेषज्ञले पनि यस्ता प्रमाणको अर्थ लगाउँदा सावधानी अपनाउन सुझाएका छन्।
बेलायतको एक्सेटर विश्वविद्यालयका फरेन्सिक पुरातत्त्वविद कार्ल ह्यारिसनले चोट कसरी लागेको थियो भन्ने बुझ्न विज्ञान उपयोगी भए पनि चोट पुर्याउनुको उद्देश्यबारे धेरै अनुमान गर्न नहुने बताएका छन्।
बाँकी रहेका प्रमाणबाट प्राचीन मानिसको व्यवहार र उनीहरूबीचको सम्बन्ध पूरै बुझ्न कठिन हुने उनको भनाइ छ।
यसरी पुराना चिहानसम्बन्धी बुझाइ नयाँ परीक्षणले बदलेको उदाहरण इजिप्टमा मात्र छैन।
अहिलेको इराकमा पर्ने प्राचीन उर सहरमा पनि राजकीय चिहानसँग जोडिएका धेरै मानिसका अवशेष भेटिएका थिए। उत्खननकर्ता लियोनार्ड वुलीले ती मानिस शासकसँग परलोक जान विष पिएर मरेको व्याख्या गरेका थिए।
पछि गरिएको परीक्षणले भने फरक संकेत दियो।
पेन्सिल्भेनिया विश्वविद्यालयको पेन म्युजियमले प्रकाशित गरेको अनुसन्धानअनुसार सन् २००७ मा त्यहाँका दुई खप्परलाई अस्पताल लगेर सिटी स्क्यान गरिएको थियो।
एउटा खप्परमा गहना थिए। अर्कोमा तामाको हेलमेट थियो। अनुसन्धानकर्ताले ती वस्तुभित्र रहेका हड्डीको अवस्था हेर्न खोजेका थिए। स्क्यानबाट बनेका थ्री–डी तस्बिरले च्यापिएका खप्पर जाँच्न र मृत्युको सम्भावित कारण खोज्न सघाए।
ती अवशेषबारे सन् २०११ मा 'एन्टिक्विटी' जर्नलमा प्रकाशित अध्ययनले विष पिएर मरेको पुरानो व्याख्यामाथि प्रश्न उठायो।
दुई खप्परको परीक्षणका आधारमा अनुसन्धानकर्ताले ती व्यक्तिलाई प्रहार गरेर मारिएको र त्यसपछि शव अन्त्येष्टिका लागि तयार पारिएको व्याख्या अघि सारे।
यसले संग्रहालयमा राखिएका अवशेषबाट पनि नयाँ कुरा पत्ता लाग्न सक्छ भन्ने देखायो।
उरमा भेटिएको प्रमाणले अबाइडोसमा पनि ठ्याक्कै त्यही भएको पुष्टि गर्दैन। यी दुई फरक ठाउँ हुन् र तिनका चिहानको आ–आफ्नै इतिहास छ। तर दुवै अनुसन्धानले उत्खनन बेला गरिएको व्याख्या नै अन्तिम नहुन सक्छ भन्ने देखाउँछन्।
अहिले अबाइडोसको अध्ययनले राजाका चिहानसँगै गाडिएका मानिसको जीवन र मृत्युतर्फ ध्यान फर्काएको छ।
हामीलाई उनीहरू सबैको नाम थाहा छैन। आफ्नो मृत्युबारे उनीहरूले के सोचेका थिए भन्ने पनि थाहा छैन। शासकप्रतिको आस्था, डर वा बाध्यतामध्ये कुन कुराले उनीहरूको अन्तिम समय निर्धारण गर्यो भन्ने प्रश्न पनि खुलै छ।
अहिलेको अध्ययनले देखाएको कुरा यत्ति हो — जाँचिएका केही खप्परमा मृत्युको आसपास लागेका गम्भीर चोट छन्।
र, चिहानसम्बन्धी अरू प्रमाणसँग जोडेर हेर्दा ती चोटले राजकीय अन्त्येष्टिसँग जोडिएको हिंसाको सम्भावनालाई बल दिन्छन्।
***