ग्रीसका राजा अलेक्जेन्डर आफ्नो कुकुरसँग दरबार परिसरमा बसिरहेका थिए।
त्यही बेला कुकुर र दरबारमै पालिएका बाँदरबीच झगडा भयो।
राजाले तिनलाई छुट्ट्याउन खोजे। तर दुर्भाग्यवश उनी आफै बाँदरको टोकाइमा परे।
त्यो चोटले उनको ज्यानै लिन्छ भन्ने कसले सोचेको थियो होला र?
तर बाँदरको टोकाइले बनेको घाउमा संक्रमण भयो। राजाको स्वास्थ्य बिग्रिँदै गयो। चिकित्सकहरूले लाख कोसिस गर्दा पनि राजालाई बचाउन सकेनन्।
सन् १९२० अक्टोबर २५ मा राजा अलेक्जेन्डरको मृत्यु भयो। उनी त्यति बेला जम्मा २७ वर्षका थिए।
आजभन्दा ठिक १०६ वर्षअघिको यो घटनाले एउटा युवा राजाको जीवन लीला मात्र समाप्त गरेन, पहिल्यै विभाजित ग्रीसको राजनीतिमा राजगद्दीको नयाँ संकट पनि थप्यो।
अलेक्जेन्डरको मृत्यु किन यति महत्त्वपूर्ण राजनीतिक घटना बन्यो भन्ने बुझ्न हामीले त्योभन्दा तीन वर्षअघिको ग्रीसमा फर्किनुपर्छ।
त्यस बेला युरोप पहिलो विश्वयुद्धमा थियो। ग्रीसमा भने युद्धमा कसको पक्ष लिने भन्ने विषयले राजा र प्रधानमन्त्रीबीच विवाद थियो।
राजा कन्स्टान्टिन प्रथम ग्रीसलाई युद्धबाट बाहिर राख्न चाहन्थे। बेलायत, फ्रान्स लगायतका मित्रराष्ट्रले उनलाई जर्मनीप्रति झुकाव राख्ने राजा ठान्थे। किनभने, उनकी पत्नी सोफिया जर्मन सम्राट विल्हेल्म द्वितीयकी बहिनी थिइन्।
प्रधानमन्त्री एलिफ्थेरियोस भेनिजेलोस भने मित्रराष्ट्रहरूको पक्षमा युद्धमा जान चाहन्थे।
यो मतभेद दरबार र सरकारभित्र मात्र सीमित रहेन। देशको राजनीति नै दुई खेमामा बाँडियो।
सन् १९१७ मा मित्रराष्ट्रहरूको दबाबपछि कन्स्टान्टिनले देश छाड्नुपर्यो। उनीसँगै जेठा छोरा तथा युवराज जर्ज पनि बाहिरिए। मित्रराष्ट्रहरूले जर्जलाई समेत जर्मनीप्रति निकट ठानेका थिए।
त्यसपछि कन्स्टान्टिनका दोस्रो छोरा अलेक्जेन्डर राजा बने।
राजगद्दीमा बसे पनि उनी स्वतन्त्र रूपमा शासन चलाउने शक्तिशाली राजा थिएनन्। राजनीतिक निर्णयमा प्रधानमन्त्री भेनिजेलोसको प्रभाव निर्णायक थियो।
अलेक्जेन्डरको शासन सुरू भएपछि ग्रीस मित्रराष्ट्रहरूको पक्षमा पहिलो विश्वयुद्धमा सहभागी भयो।
त्यति बेला ग्रीसको राजगद्दीको उत्तराधिकारमा एउटा गाँठो बाँकी थियो। कन्स्टान्टिनले देश त छाडेका थिए, तर औपचारिक रूपमा राजगद्दी त्यागेको कागजमा हस्ताक्षर गरेका थिएनन्।
अमेरिकी विदेश मन्त्रालयको अभिलेखमा सुरक्षित तत्कालीन कूटनीतिक प्रतिवेदनले यो भिन्नता स्पष्ट पार्छ। ग्रीसस्थित अमेरिकी प्रतिनिधि एडवर्ड क्याप्सले सन् १९२१ जनवरीमा लेखेको विवरण अनुसार कन्स्टान्टिनले राजकीय अधिकार छोरालाई सुम्पन माने पनि औपचारिक राजीनामामा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए।
छोराको अप्रत्याशित मृत्युपछि यही अधुरो प्रश्न फेरि उठ्यो — कन्स्टान्टिन पूर्वराजा थिए कि निर्वासित राजा?
यति मात्र होइन, मृत्युअघि अलेक्जेन्डरको निजी जीवन पनि समस्याग्रस्त थियो।
उनी आस्पासिया मानोसलाई प्रेम गर्थे। आस्पासिया राजपरिवारकी सदस्य थिइनन्, तर दरबारसँग अपरिचित वा सामान्य आर्थिक अवस्थाकी महिला पनि थिइनन्।
उनका पिता पेट्रोस मानोस कर्नेल थिए र कन्स्टान्टिनका सहयोगीका रूपमा काम गर्थे। उनी प्रतिष्ठित ग्रिक परिवारकी सदस्य थिइन्।
अलेक्जेन्डर र आस्पासियाले सन् १९१९ मा विवाह गरे। राजपरिवार बाहिरकी महिलासँगको यो विवाहले विरोधको सामना गर्नुपर्यो।
अलेक्जेन्डर जीवित रहँदासम्म आस्पासियाले रानीको उपाधि पाइनन्।
अलेक्जेन्डरलाई दरबार परिसरमा बाँदरले टोकेको घटनाको मिति र ऐतिहासिक विवरणहरू एकनास छैनन्। तर कुकुर र पालिएको बाँदरको झगडा छुट्याउन खोज्दा राजा घाइते भएको र घाउ संक्रमणले मृत्यु भएको विवरण सबै ऐतिहासिक स्रोतमा समान छन्।
हिस्ट्री डटकमले घटना अक्टोबरको सुरूतिर भएको उल्लेख गरेको छ। ग्रिक राजपरिवारको विवरणमा भने एथेन्स नजिकको तातोई दरबार परिसरमा यो घटना भएको भनिएको छ। त्यहाँ राजाको खुट्टामा बाँदरले टोकेको उल्लेख छ।
त्यति बेलाका समाचारमा उनको अवस्थालाई 'ब्लड पोइजनिङ' भनिएको पाइन्छ। अस्ट्रेलिया राष्ट्रिय पुस्तकालयको 'ट्रोभ' अभिलेखमा रहेको सन् १९२० अक्टोबर २७ को समाचारले पनि बाँदरको टोकाइपछि ब्लड पोइजनिङ भएको जनाएको छ।
अलेक्जेन्डर बिरामी पर्दाको चिकित्सा आजको जस्तो थिएन। पेनिसिलिन पत्ता लाग्नै आठ वर्ष बाँकी थियो। अलेक्जेन्डर फ्लेमिङले सन् १९२८ मा त्यसको खोज गरे। त्यसलाई उपयोगी औषधिका रूपमा विकास गरेर व्यापक उत्पादन गर्ने काम सन् १९४० को दशकमा मात्र भयो।
यसले राजा अलेक्जेन्डरको उपचारमा रहेको एउटा ठूलो सीमा बुझाउँछ। उनीसँग दरबार र चिकित्सकहरूको पहुँच थियो, तर संक्रमणविरूद्ध अहिले प्रयोग हुने पेनिसिलिनजस्ता औषधि थिएनन्।
अलेक्जेन्डरको मृत्युपछि उत्तराधिकारीको प्रश्न तत्काल अगाडि आयो।
अमेरिकी प्रतिनिधि क्याप्सको प्रतिवेदन अनुसार सरकारबाट उनका भाइ राजकुमार पललाई राजगद्दीको प्रस्ताव गरिएको थियो। त्यसका लागि पिता कन्स्टान्टिन र जेठा दाजु जर्जले राजगद्दीमाथिको अधिकार त्याग्नुपर्ने सर्त थियो।
पलले आफ्ना पिता नै राजा रहेको तर्क गर्दै प्रस्ताव स्वीकार गरेनन्।
यसरी नयाँ राजा छान्ने प्रयास पुरानै विवादमा अड्कियो। अलेक्जेन्डरको स्थान कसले लिने भन्ने प्रश्नसँगै सन् १९१७ मा उनका पितालाई हटाउनु उचित थियो कि थिएन भन्ने विवाद पनि फर्कियो।
सन् १९२० नोभेम्बरको निर्वाचनमा भेनिजेलोस पराजित भए। त्यसपछि जनमत संग्रह भयो र डिसेम्बरमा कन्स्टान्टिन फेरि राजगद्दीमा फर्किए।
तीन वर्षअघि पिताको ठाउँमा छोरा राजा भएका थिए। उनै छोराको मृत्युपछि पिता पुनः राजा भए।
तर देशको संकट राजगद्दीमा मात्र सीमित थिएन।
ग्रीसको सेना सन् १९१९ मै अहिलेको टर्कीस्थित स्मिर्ना, अर्थात् इज्मिर पुगिसकेको थियो। पहिलो विश्वयुद्ध सकिए पनि ग्रीसको भूभाग विस्तार गर्ने अभियान र टर्कीको राष्ट्रवादी आन्दोलनबीचको संघर्ष जारी थियो।
अर्थात् यो युद्ध अलेक्जेन्डरको मृत्युपछि सुरू भएको थिएन। र, सत्ता परिवर्तनपछि पनि सैन्य अभियान रोकिएन।
भेनिजेलोससम्बन्धी राष्ट्रिय अनुसन्धान प्रतिष्ठानको समयक्रम अनुसार नयाँ नेतृत्वले सन् १९२१ मा टर्कीको भित्री भूभागतर्फ ठूलो आक्रमण अघि बढायो। सन् १९२२ मा मुस्तफा केमालको नेतृत्वमा टर्कीका सेनाले प्रत्याक्रमण गरे। ग्रीसले ठूलो पराजय बेहोर्यो।
त्यससँगै व्यापक विस्थापन भयो। ग्रीसभित्र सैनिक विद्रोह भयो र कन्स्टान्टिनले फेरि राजगद्दी छाड्नुपर्यो।
यी घटनाक्रम जोड्दा बाँदरको एउटा टोकाइले युद्धको सम्पूर्ण परिणाम निर्धारण गर्यो भन्न मिल्दैन। युद्ध पहिल्यै चलिरहेको थियो। सत्ता परिवर्तनपछिका सैन्य निर्णय र टर्कीको प्रतिरोधको आफ्नै भूमिका थियो।
अलेक्जेन्डर बाँचेका भए के हुन्थ्यो भन्ने प्रश्नको निश्चित उत्तर छैन। तर उनको मृत्युले उत्तराधिकारको विवादलाई फेरि राजनीतिको केन्द्रमा ल्याएको र पिताको पुनरागमनको बाटो खुलेको अभिलेखले देखाउँछ।
यति ठूलो राजनीतिक उथलपुथलबीच एउटा पारिवारिक घटना पनि भयो।
अलेक्जेन्डरको मृत्यु भएको करिब पाँच महिनापछि, सन् १९२१ मार्चमा आस्पासियाले छोरी जन्माइन्। उनको नाम अलेक्जान्ड्रा राखियो। उनी पछि युगोस्लाभियाका राजा पिटर द्वितीयकी पत्नी बनिन्।
अलेक्जेन्डरले भने आफ्नी छोरीलाई देख्न पाएनन्।
***