हामी बिहान उठेपछि दाँत माझ्छौं, अनुहारमा क्रिम लगाउँछौं, प्लास्टिकको बोतलबाट पानी पिउँछौं।
खाना पकाउन र राख्न विभिन्न भाँडाकुँडा प्रयोग गर्छौं। घरमा प्रयोग हुने फर्निचर, कपडा, खेलौना र कस्मेटिक्स पनि हाम्रो दैनिक जीवनका हिस्सा हुन्।
यीमध्ये धेरै सामानमा विभिन्न रासायनिक पदार्थ प्रयोग गरिएका हुन्छन्। तिनले सामानलाई नरम, कडा, टिकाउ, पानी प्रतिरोधी वा आकर्षक बनाउँछन्। कतिपयले उत्पादनलाई जीवाणुबाट जोगाउन वा लामो समय सुरक्षित राख्न पनि मद्दत गर्छन्।
तर हामीले दैनिक प्रयोग गर्ने यस्ता सामानमा रहेका केही रसायनले शरीरको हर्मोन प्रणालीमा हस्तक्षेप गरिरहेका हुन सक्छन्। अझ चिन्ताको विषय, तिनको सम्पर्क गर्भमै हुर्किरहेको बच्चासम्म पुग्न सक्छ।
गर्भमा रहेको बच्चाले बाहिरी संसारका सामान प्रयोग गर्दैन। तर आमाको शरीरमा पुगेका केही रासायनिक पदार्थ प्लासेन्टा (साल) मार्फत् बच्चासम्म पुग्न सक्छन्। वैज्ञानिकहरूले आमाको रगत, दूध र नाभीको रगतमा समेत यस्ता रसायन फेला पारेका छन्।
यसको अर्थ दैनिक प्रयोगका सबै सामान गर्भवती महिलाका लागि असुरक्षित छन् भन्ने होइन। तर हामीले सामान्य ठानेर प्रयोग गरिरहेका वस्तुमा भएका केही रसायनले गर्भमा हुर्किरहेको बच्चाको विकासमा कस्तो प्रभाव पार्न सक्छन् भन्ने प्रश्न अहिले विश्वव्यापी अनुसन्धानको विषय बनेको छ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युएनइपी) र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नोभेम्बर १७ मा सार्वजनिक गरेको नयाँ प्रतिवेदनले यही विषयमा विश्वको ध्यान खिचेको छ।
'स्टेट अफ द साइन्स अफ इन्डोक्राइन डिसरप्टिङ केमिकल्स २०२६' नाम दिइएको उक्त प्रतिवेदन सन् २०१२ पछिको यस विषयमा गरिएको पहिलो ठूलो विश्वव्यापी वैज्ञानिक समीक्षा हो।
प्रतिवेदन अनुसार शरीरको हर्मोन प्रणालीमा हस्तक्षेप गर्ने रसायनको सम्पर्क जन्मिनुअघि नै सुरू हुन सक्छ। यस्ता रसायनले मस्तिष्कको विकास, शरीरको वृद्धि र प्रजनन स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छन्।
यी रसायनलाई वैज्ञानिक भाषामा 'इन्डोक्राइन डिसरप्टिङ केमिकल्स' (इडिसी) भनिन्छ।
हाम्रो शरीरमा हर्मोनले धेरै महत्त्वपूर्ण काम गर्छन्। शरीरको वृद्धि, मस्तिष्कको विकास, निद्रा, भोक, मेटाबोलिजम, प्रजनन क्षमता र शरीरका विभिन्न अंगको कामलाई व्यवस्थित गर्न हर्मोनको भूमिका हुन्छ।
शरीरका विभिन्न ग्रन्थीबाट उत्पादन हुने हर्मोन र तिनले गर्ने कामबीच तालमेल मिलाउने प्रणालीलाई इन्डोक्राइन प्रणाली भनिन्छ।
तर केही रासायनिक पदार्थले यही प्रणालीमा हस्तक्षेप गर्न सक्छन्। तिनले हर्मोन उत्पादन हुने प्रक्रिया, शरीरमा हर्मोनको मात्रा, हर्मोनले काम गर्ने तरिका वा त्यसको संकेत बुझ्ने प्रक्रियामा असर पार्न सक्छन्। यसरी शरीरको प्राकृतिक हर्मोन प्रणालीमा अवरोध पुर्याउने रसायनलाई इन्डोक्राइन डिसरप्टर भनिएको हो।
यस्ता रसायन कुनै एउटा वस्तु वा उद्योगमा मात्र सीमित छैनन्। प्लास्टिकका सामान, खानेकुरा प्याक गर्ने सामग्री, कस्मेटिक्स, खेलौना, कपडा, फर्निचर, औषधि, कृषि क्षेत्रमा प्रयोग हुने कीटनाशक र केही चिकित्सा उपकरणमा समेत तिनको प्रयोग हुन्छ।
उदाहरणका लागि, बिस्फेनोल ए (बिपिए) केही प्रकारका प्लास्टिक र खाद्य सामग्री राख्ने प्याकेजिङमा प्रयोग हुँदै आएको रसायन हो। यसले शरीरमा इस्ट्रोजेनजस्तो हर्मोनको काममा हस्तक्षेप गर्न सक्छ। त्यस्तै, फ्थालेट्स नामका रसायन केही प्लास्टिक लचिलो बनाउन प्रयोग गरिन्छ। कतिपय कस्मेटिक्स र व्यक्तिगत सरसफाइका सामग्रीमा पनि हुन सक्छन्।
यस्ता सबै रसायनको प्रभाव एउटै हुँदैन। कुन रसायन हो, कति मात्रामा शरीरमा पुग्यो, कति समयसम्म सम्पर्क भयो र मानिसको जीवनको कुन चरणमा सम्पर्क भयो भन्ने कुराले त्यसको जोखिम निर्धारण गर्छ।
समस्या के छ भने, हामीले प्रयोग गर्ने सामानमा रहेका सबै रसायनको स्वास्थ्यमा पर्ने असरबारे पर्याप्त अध्ययन भइसकेको छैन।
प्रतिवेदन अनुसार विश्वभर उत्पादन तथा प्रयोगका लागि दर्ता भएका रासायनिक पदार्थ र तिनका मिश्रणको संख्या तीन लाख ५० हजारभन्दा बढी छ। तर तीमध्ये निकै थोरैको मात्र हर्मोन प्रणालीमा पार्ने असरबारे मूल्यांकन गरिएको छ।
हर्मोन प्रणालीमा हस्तक्षेप गर्ने रसायनको सम्पर्कले मानिसको स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो दशकमा धेरै अनुसन्धान भएका छन्।
नयाँ प्रतिवेदनले यस्ता रसायनको सम्पर्क र प्रजनन स्वास्थ्य, मस्तिष्कको विकास, स्नायु प्रणाली, थाइराइड लगायत हर्मोनको नियमन, मेटाबोलिजम, रोग प्रतिरोधात्मक क्षमता र मुटुको स्वास्थ्यबीचको सम्बन्धबारे वैज्ञानिक प्रमाण थप बलियो भएको उल्लेख गरेको छ।
विशेषगरी गर्भावस्था र बाल्यकालमा हुने सम्पर्कलाई बढी संवेदनशील मानिएको छ।
गर्भमा रहेको बच्चाको मस्तिष्क, स्नायु प्रणाली र विभिन्न अंग तीव्र रूपमा विकास भइरहेका हुन्छन्। यही समयमा हर्मोनको भूमिका महत्त्वपूर्ण हुन्छ। त्यसैले हर्मोन प्रणालीमा हस्तक्षेप गर्ने रसायनको सम्पर्कले विकास प्रक्रियामा असर पार्न सक्ने वैज्ञानिकहरूको चिन्ता छ।
बच्चा जन्मिनुअघि र बाल्यकालको सुरूआती चरणमा हुने सम्पर्कले मस्तिष्कको विकास, सोच्ने क्षमता र व्यवहारमा असर पार्न सक्ने प्रमाण बलियो हुँदै गएको प्रतिवेदनले उल्लेख गरेको छ।
यस्ता रसायनको सम्बन्ध प्रजनन क्षमतामा कमी, प्रजनन अंगको विकासमा समस्या र थाइराइड हर्मोनको असन्तुलनसँग पनि जोडिएको छ। केही रसायनको सम्पर्क र मोटोपन, टाइप–२ मधुमेह तथा कलेजोमा बोसो जम्ने मेटाबोलिक रोगबीचको सम्बन्धबारे पनि अध्ययन भएका छन्।
तर कुनै व्यक्तिमा देखिएको रोगको कारण यही रसायन हो भनेर ठोकुवा गर्न सजिलो छैन।
मानिस एकै पटक धेरै किसिमका रसायनको सम्पर्कमा रहने भएकाले तिनको छुट्टाछुट्टै र संयुक्त प्रभाव पहिचान गर्नु वैज्ञानिकहरूका लागि चुनौतीपूर्ण छ।
वयस्कको तुलनामा गर्भमा रहेको बच्चा र बालबालिकाको शरीर विकासको प्रक्रियामा हुन्छ। त्यसैले उनीहरूमा रासायनिक पदार्थको सम्पर्कले पार्ने असर फरक हुन सक्छ। खेलौना तथा अन्य वस्तु मुखमा हाल्ने बानीले पनि केही रसायनको सम्पर्क बढाउन सक्छ।
गर्भावस्थामा आमाको शरीरमा पुगेका केही रसायन प्लासेन्टामार्फत बच्चासम्म पुग्न सक्छन्। यही कारण वैज्ञानिकहरूले गर्भावस्थालाई रासायनिक पदार्थको सम्पर्कका हिसाबले संवेदनशील अवधि मानेका छन्।
यस्ता रसायनको असर तत्कालै देखिनुपर्छ भन्ने पनि छैन। केही प्रभाव लामो समयपछि देखिन सक्छन्।
यद्यपि, रसायनको सम्पर्कमा आएका सबै गर्भवती महिलाका बच्चामा स्वास्थ्य समस्या देखिन्छ भन्ने होइन। जोखिमको मात्रा र असर रसायनको प्रकृति, सम्पर्कको समय र अन्य धेरै कारकमा निर्भर हुन्छ।
हामीले प्रयोग गर्ने वस्तुमा रहेका केही रसायन विभिन्न माध्यमबाट शरीरमा प्रवेश गर्न सक्छन्।
मुखबाट– खानेकुरा र पानीमार्फत वा रासायनिक पदार्थ मिसिन सक्ने खाद्य प्याकेजिङसँगको सम्पर्कबाट।
सासबाट– घरभित्रको धूलो, हावा र केही रासायनिक पदार्थका सूक्ष्म कण तथा वाष्पमार्फत।
छालाबाट– कस्मेटिक्स, व्यक्तिगत सरसफाइका सामग्री र केही कपडा वा अन्य वस्तुको सम्पर्कबाट।
यसरी मानिसले एउटै स्रोतबाट होइन, दिनभरि विभिन्न स्रोतबाट थोरै–थोरै मात्रामा फरक रसायनको सम्पर्क पाइरहेको हुन सक्छ।
प्रतिवेदनले मानिस र वन्यजन्तु एकै पटक एउटाभन्दा बढी रसायनको सम्पर्कमा रहने तथ्यलाई विशेष महत्त्व दिएको छ। तर धेरै नियामक प्रणालीले अझै पनि रसायनको मूल्यांकन छुट्टाछुट्टै गर्ने गरेका छन्।
यसले एउटा रसायन सुरक्षित देखिए पनि विभिन्न रसायनको संयुक्त प्रभाव कस्तो हुन्छ भन्ने प्रश्नलाई जटिल बनाउँछ।
यस्ता अनुसन्धान सार्वजनिक भएपछि प्लास्टिकका सामान, कस्मेटिक्स वा अन्य दैनिक प्रयोगका वस्तु पूर्ण रूपमा त्याग्नुपर्ने हो कि भन्ने प्रश्न उठ्न सक्छ।
तर वैज्ञानिकहरूले त्यस्तो सुझाव दिएका छैनन्।
सबै प्लास्टिक वा सौन्दर्य सामग्रीमा हर्मोन प्रणाली बिगार्ने रसायन हुन्छन् भन्ने होइन। त्यस्तै, कुनै वस्तुमा कुनै रसायन भेटिँदैमा त्यसले अनिवार्य रूपमा स्वास्थ्यमा हानि गर्छ भन्ने पनि हुँदैन।
जोखिम निर्धारण गर्दा रसायनको प्रकार, त्यसको मात्रा र शरीरमा पुग्ने माध्यम महत्त्वपूर्ण हुन्छ।
सम्भावित जोखिम कम गर्न केही व्यवहार भने अपनाउन सकिन्छ।
– खाना राख्न र तताउन सम्भव भएसम्म सिसा वा स्टिलका भाँडा प्रयोग गर्ने।
– प्लास्टिकका भाँडामा खाना नतताउने वा अत्यधिक तातो खाना नराख्ने।
– व्यक्तिगत सरसफाइ र सौन्दर्य सामग्री किन्दा त्यसमा प्रयोग भएका सामग्रीबारे जानकारी लिने।
– अनावश्यक रासायनिक उपचार गरिएका कपडा तथा घरायसी सामग्रीको प्रयोग घटाउने।
– बालबालिकाका खेलौना तथा हेरचाहका सामग्री किन्दा सुरक्षा मापदण्ड पूरा गरेका उत्पादन छनोट गर्ने।
– घरभित्र हावाको आवतजावत राम्रो बनाउने र धूलो नियमित सफा गर्ने।
तर व्यक्तिगत सावधानीले मात्रै समस्या समाधान हुँदैन।
युएनइपी र डब्लुएचओको प्रतिवेदनले रासायनिक पदार्थको प्रयोग र त्यसबाट हुने सम्भावित जोखिम नियन्त्रण गर्न सरकार तथा उत्पादक कम्पनीको जिम्मेवारी पनि औंल्याएको छ।
उत्पादनमा कुन रसायन प्रयोग भएको छ भन्ने जानकारी उपभोक्तालाई उपलब्ध गराउनु, त्यसको स्वास्थ्यमा पर्ने प्रभावबारे परीक्षण गर्नु र जोखिम देखिएका रसायनको सुरक्षित विकल्प खोज्नु आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ।
अझ एउटा चुनौती छ।
कुनै हानिकारक रसायनलाई प्रतिबन्ध लगाएर त्यसको सट्टा त्यस्तै संरचना भएको वा पर्याप्त परीक्षण नगरिएको अर्को रसायन प्रयोग गरियो भने समस्या फेरि दोहोरिन सक्छ।
त्यसैले कुनै एउटा रसायनलाई मात्र नियन्त्रण गर्नेभन्दा समग्र उत्पादन प्रक्रियामा प्रयोग हुने रासायनिक पदार्थको सुरक्षा मूल्यांकन वा जाँच गर्नुपर्ने आवश्यकता प्रतिवेदनले औंल्याएको छ।
एपीको रिपोर्ट अनुसार यस्ता रसायनको सम्पर्कका कारण हुने स्वास्थ्य उपचार खर्च र उत्पादकत्वमा पर्ने असर जोड्दा विश्वव्यापी आर्थिक लागत वार्षिक १.१ ट्रिलियन अमेरिकी डलरभन्दा बढी हुने अनुमान गरिएको छ।
युएनइपी र डब्लुएचओको नयाँ प्रतिवेदनले उठाएको मूल प्रश्न पनि यही हो— हामीले प्रयोग गर्ने सामानलाई उपयोगी, आकर्षक र टिकाउ बनाउने रसायनले मानव स्वास्थ्य र वातावरणमा कस्तो मूल्य चुकाइरहेको छ?
विज्ञानले अहिलेसम्म सबै प्रश्नको जबाफ दिएको छैन।
तर गर्भमै हुर्किरहेको बच्चासम्म केही रासायनिक पदार्थको सम्पर्क पुगिरहेको प्रमाणले एउटा कुरा स्पष्ट पारेको छ— मानव स्वास्थ्यको सुरक्षा जन्मिएपछि मात्रै होइन, जन्मिनुअघि नै सुरू हुनुपर्छ।
***