दशौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा नेपाल आर्मी र एपीएफ शनिबार फाइनलमा प्रवेश गरेका छन्।
सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा भएको सेमिफाइनलमा आर्मीले पुलिसलाई ४४–२८ ले पराजित गर्यो। आर्मीको जितमा अनिशा घलेले १३ अंक योगदान गरिन्।
सुरुका तीन क्वाटरमा आर्मीले क्रमशः ९–६, १९–७ र ८–६ को अग्रता लिदै जितको आधार खडा गरेको थियो। चौथो क्वाटरमा पुलिसले ९–८ को अग्रता बनाए पनि जितका लागि पर्याप्त भएन।
अर्को सेमिफाइनलमा सोनी वाइबाको १७ अंक सहयोगमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ७४–१२ ले हरायो। पहिलो क्वाटरमा १६–१ को अग्राता बनाएको एपीएफले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्दै जित अन्तर फराकिलो बनायो। एपीएफले दोश्रो क्वाटरमा २३–२, तेश्रोमा २०–६ र चौथोमा १५–३ स्कोर गर्यो।
महिलाकै थ्री अन थ्रीमा कर्णाली प्रदेश र आर्मीले उपाधि भिडन्त पक्का गरे। कर्णालीले एपीएफमाथि ११–१० को कठिन जित दर्ता ग¥यो। कर्णालीकी एन्जल गुप्ताले ५ स्कोर गरिन्। आर्मीले बागमती
प्रदेशको चुनौती १५–४ ले पन्छायो। आर्मीकी दिब्यान्शा कार्कीले ७ अंक जोडिन्। दुवै विधाको फाइनल आइतबार हुनेछ।
टेनिस
दशौं राष्ट्रिय खेलकुदअन्तर्गत टेनिसको महिला डबल्समा आर्मीका शिभाली गुरुङ र स्वस्तिका विष्टको जोडीले शनिबार स्वर्ण जितेका छन्। ५ स्पर्धा समावेश टेनिसमा पहिलो स्वर्ण टुंगो लागेको हो।
बर्दियाको गुलेरियामा भएको फाइनलमा शिभाली र स्वस्तिकाको जोडीले बागमतीका प्राज्ना मानन्धर र प्रकृति श्रेष्ठको जोडीलाई ६–० र ६–१ ले पराजित गरे। एपीएफका इन्द्रकला श्रेष्ठ र भगवती विक तथा गण्डकीका आरुषी तुलाचन र आहाना शेरचन तेश्रो भए।
पुरुष सिंगल्समा गण्डकीले स्वर्ण जित्ने पक्का भएको छ। गण्डकीका प्रदिप खड्का र करनबहादुर थापा फाइनलमा पुगेसंगै गण्डकीको स्वर्ण पक्का भएको हो। सेमिफाइनलमा प्रदिपले आर्मीका प्रणव खनाललाई ६–२ र ७–६ (७–५) तथा करनले बागमतीका निसान श्रेष्ठलाई ६–२ र ६–२ को सेटमा हराए।
पुरुष डबल्समा आर्मीका राजवीर प्रधान र प्रणवको जोडीले नेपाल पुलिसका निहालजंगबहादुर थापा र दर्शिल श्रेष्ठको जोडीलाई ६–३ र ६–० तथा गण्डकीका प्रदीप र करनको जोडीले बागमतीका निसान श्रेष्ठ र प्रितम परियारको जोडीलाई ६–२ र ६–१ को सेटमा पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे।
टेनिसमा आइतबार २ स्वर्णको छिनोफाने हुनेछ। पुरुष डबल्स र मिक्स डबल्सको फाइनल आइतबार हुनेछ। अन्तिम दिन सोमबार पुरुष÷महिला सिंगल्सको फाइनल हुनेछ।