कप्तान दीपक बोहराको अर्धशतकीय पारीमा सशस्त्र प्रहरीको एपीएफ क्लबले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दोश्रो दिनको तेश्रो खेलमा विजयी सुरूवात गरेको छ।
कालुन्चोक मैदानमा टस हारेपनि पहिला ब्याटिंग पाएको विभागीय टोलीले कोशी प्रदेशमाथि ११ रनको जीत आत्मसाथ गर्दै २ अंक बटुलेको हो।
एपीएफले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रन बनाउँदा बोहराले उत्कृष्ट ब्याटिङ गर्दै ४४ बलमा ५७ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै सुमित महर्जनले २१ बलमा २८ रन तथा अमर सिंह रौतेलाले १३ बलमा १६ रनको योगदान दिए ।
१५५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन मात्रै बनाउन सक्यो ।
कोशीका लागि अंकित सुबेदीले सर्वाधिक ५२ रन बनाए । उनले ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै कृतिक कामतले ३८ बलमा २७ रन तथा समीर कार्कीले ७ बलमा ११ रन बनाए ।
एपीएफका बलरमध्ये अमर सिंह रौतेलाले ३ विकेट लिए भने अभिनाश बीले २ विकेट हात पारे । भुवन कार्की, सन्तोष यादव र प्रज्ज्वल शाहले पनि १–१ विकेट लिए।
महिला क्रिकेटतर्फ आर्मी सेमिफाइनल प्रवेश, कर्णाली बाहिरियो
विभागीय टोली त्रिभुवन आर्मी क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगीताको महिला क्रिकेटतर्फ सहआयोजक कर्णाली प्रदेशलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । कर्णाली आफ्नो दोस्रो हारसँगै प्रतियोगीताबाट बाहिरिएको छ । कर्णाली यसअघि कोशी प्रदेशसँग पराजित भएको थियो ।
शुक्रबार वीरेन्द्रनगर रंगशालामा भएको प्रतियोगीतामा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा चार विकेट गुमाउँदै १३८ रन बनायो । महिला राष्ट्रिय टीमकी सदस्य आर्मीकी सम्झना खड्काले ५८ बल खेल्दै सर्वाधिक ६२ रन बनाइन् । उनले १० चौका प्रहार गरिन् ।
यस्तै यशोदा विष्टले ३३ रन बनाउँदा कविता कुँवर ६ बलमा ११ रन बनाउँदै नटआउट रहिन् । आर्मीकी विन्दु रावलले सात तथा रुवि पोदारले पाँच रन थपिन् । आर्मीले २० रन अतिरिक्त पाएको थियो। कर्णालीका बलर गंगा खड्का, रमा बुढाथोकी र सोना चन्द र किरणकुमारी कुँवरले एक–एक विकेट दिए ।
१३९ रनको लक्ष्य पछ्याएको कर्णाली ४१ रनमै अलआउट भयो । अन्तिमतरि ब्याटिङ गर्न आएकी कर्णालीकी जयन्ती चन्दले १० रन बनाउनुबाहेक अरुले दोहोरो अंक छुन सकेनन् । कप्तान करुणा कुमारी कुँवर ८ रन बनाएर आउट हुँदा शिखा दवाडीले ६ रन बनाइन् । यस्तै रेखा सोनीले पाँच, रविना बुढामगरले तीन तथा उमा चौधरी, श्रुती बुढा र अञ्जु गुरुङले एक–एक रन बनाइन् ।
कर्णालीलाई सस्तैमा समेट्ने क्रममा आर्मीकी मनिषा उपाध्यायले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी मनिषाले जम्मा १० रन मात्रै दिइन् । यस्तै यमुना थारुले चार ओभर बलिङ गर्दै एक मेर्डन राखेर तीन विकेट लिइन् भने कविता कुँवरले तीन ओभर बलिङ गर्दै दुई विकेट लिइन् । लक्ष्मी साउँदको नाममा एक विकेट रह्यो । आर्मीका लागि सर्वाधिक ६२ रन बनाएकी सम्झना प्लेयर अफ द म्याच घोषित भइन् ।