त्रिभुवन आर्मी क्लबले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा लगातार दोस्रो जित दर्ता गरेको छ। शुक्रबार भएको खेलमा आर्मीले बागमती प्रदेशलाई २–० गोलले पराजित गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६४औँ मिनेटमा आर्मीका लाकेन लिम्बुले पहिलो गोल गरे। त्यसपछि अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले इन्जुरी समयको सातौँ मिनेट अर्थात् ९७औँ मिनेटमा गोल गर्दै आर्मीको जित सुनिश्चित गरे।
खेलमा कुल पाँच पहेँलो कार्ड देखाइएको थियो। आर्मीका तीन र बागमतीका दुई खेलाडीले पहेँलो कार्ड पाए। आर्मीका लाकेन लिम्बुले १२औँ, अनुभव पुरीले ३९औँ र विमल पाण्डेले ९२औँ मिनेटमा पहेँलो कार्ड पाए। यस्तै, बागमतीका रोनिस राजबाहकले ८८औँ र भुवन कामीले ९२औँ मिनेटमा पहेँलो कार्ड पाएको म्याच कमिस्नर वीरेन्द्र पाण्डेले जानकारी दिए।
पहिलो खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको आर्मीले बागमतीलाई पनि हराएपछि प्रतियोगितामा ६ अंक जोडेको छ। पहिलो खेलमा कोशी प्रदेशसँग बराबरी खेलेको बागमतीको भने १ अंक छ।
शनिबार पुरुष फुटबलतर्फ दुई खेल हुनेछन्। पहिलो खेलमा बिहान सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लब आमनेसामने हुनेछन्।