नेपाली राष्ट्रिय क्रिकेट टिमको बुधबारदेखि सुरु हुने बन्द प्रशिक्षणको तयारी पूरा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको छ। बन्द प्रशिक्षणमा सहभागी हुने सबै खेलाडी, प्रशिक्षक तथा ग्राउण्ड स्टाफको मंगलबार पिसिआर परीक्षण गरिने छ।
पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आउने खेलाडी तथा प्रशिक्षकलाई राजधानीको एक होटेलमा राखिने छ भने ग्राउण्ड स्टाफलाई कीर्तिपुर मैदानमै राख्ने व्यवस्था गरिएको छ।
ग्राउण्ड स्टाफलाई पहिलो चरणमा एक महिना घर जान दिइने छैन भने खेलाडीहरुलाई पनि होटलबाट मैदानसम्म आउनका लागि क्रिकेट संघ कै बस प्रयोग गरिने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का सदस्य दुर्गाराज पाठकले क्लोज क्याम्पको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए। खेलाडीहरुलाई राख्नका लागि होटेल पनि आइसोलेट गरिएको र त्यहाँ अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएको उनले बताए।
यस्तै स्वास्थ्य मापदण्डका कुराहरुमा क्यान संवेदनशील रहेको बताउँदै अहिलेको अवस्थामा सम्पूर्ण कुराहरु मिलाउन चुनौती रहेको भएपनि खेलाडीहरु मैदान उत्रन उत्साहित रहेको बताए।
क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
कोरोना भाइरसको महामारीमा बन्द प्रशिक्षण नौ महिना ढिला भएको हो।
प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनाश बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की रहेका छन्। प्रशिक्षकमा जगत टमाटा छन्।
नेपालले विश्वकप लिग क्रिकेट दुईअन्तर्गत सन् २०२१ मा पाँच सिरिज खेल्ने तालिका रहेको छ। त्यसैको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो।