न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण पनि खेल्ने भएका छन्।
विराटनगर किंग्सले उनलाई दोस्रो सिजनका लागि आबद्ध गरेको घोषणा गरेको हो।
३९ वर्षीय गप्टिलले गत सिजन विराटनगरका लागि ६ खेलमा १३७ रन जोडेका थिए। एक खेलमा अर्धशतक जोड्नुबाहेक उनले अरु खेलमा उल्लेख रन जोड्न सकेका थिएनन्।
उद्घाटन खेलमा जनकपुरविरूद्ध हारेको खेलमा गप्टिलले ४३ बलमा ५५ रन बनाएका थिए। तर उनले बाँकी पाँच खेलमा ८२ रन मत्र बनाउन सके।
सन् २०२२ देखि राष्ट्रिय टोलीबाट बाहिरिएका उनले यो सिजन क्यानडाको ग्लोबल टी-२० लिग खेलेका थिए।
विराटनगरले यसअघि दक्षिण अफ्रिकाका ब्याटर फाप डु प्लेसिससँगगै स्टकल्यान्डका ओपनर ब्याटर जर्ज मुन्से र अस्ट्रेलियाका अलराउण्डर साम हिजलेटलाई अनुबन्ध गरेको थियो।
आगामी मंसिर १ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने एनपिएलका लागि विराटनगरको टोलीमा मार्की खेलाडी सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर राना रहेका छन्।