आइसिसी पुरुष क्रिकेट विश्वकप २०२७ को ग्लोबल छनोटमा पुग्ने लक्ष्यसहित नेपालले घरेलु मैदानमा महत्वपूर्ण प्रतियोगिता खेल्दैछ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२७ को विश्वकप छनोट प्लेअफ प्रतियोगिताको आयोजक तोक्दै शुक्रबार खेलतालिका सार्वजनिक गरेको छ।
आइसिसीका अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म नेपालमा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। नेपाल, इटाली, नामिबिया, युगान्डा, क्यानडा, कुवेत, जर्सी र संयुक्त अरब इमिरेट्स (यूएई) ले राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन्।
नेपालले प्रतियोगिताको उद्घाटन खेलमै इटालीसँग प्रतिस्पर्धा गर्नेछ। डिसेम्बर ४ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल र इटालीबीच खेल हुनेछ। सोही दिन माथिल्लो मुलपानी क्रिकेट मैदानमा नामिबिया र युगान्डाबीच अर्को खेल सञ्चालन हुनेछ।
प्रतियोगिताका खेलहरू काठमाडौंका दुई मैदानमा सञ्चालन हुनेछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुर र माथिल्लो मुलपानी क्रिकेट मैदानलाई खेलस्थलका रूपमा छनोट गरिएको छ। आइसिसीले सार्वजनिक गरेको खेलतालिकाअनुसार एकै दिन दुई खेल हुनेछन्। दुवै खेल फरक मैदानमा सञ्चालन हुनेछन्।
नेपालले प्रतियोगितामा कुल सात खेल खेल्नेछ। नेपालले डिसेम्बर ४ मा इटालीसँग खेलेपछि डिसेम्बर ६ मा युगान्डासँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि डिसेम्बर १० मा यूएई, डिसेम्बर १२ मा जर्सी, डिसेम्बर १४ मा क्यानडा, डिसेम्बर १८ मा नामिबिया र अन्तिम खेल डिसेम्बर २१ मा कुवेतसँग खेल्नेछ। नेपालका सबै सात खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन्।
नेपालले लिग चरणमा सबै टोलीसँग एक–एक खेल खेल्नेछ। प्रतियोगिताको शीर्ष चार टोलीले सन् २०२७ को विश्वकप छनोटमा स्थान बनाउनेछन्। त्यसैले नेपालका लागि घरेलु मैदानमा हुने यो प्रतियोगिता विश्वकप यात्रालाई अगाडि बढाउने महत्वपूर्ण अवसर हुनेछ।
नेपालको खेलतालिका
डिसेम्बर ४ इटाली त्रिवि क्रिकेट मैदान
डिसेम्बर ६ युगान्डा त्रिवि क्रिकेट मैदान
डिसेम्बर १० यूएई त्रिवि क्रिकेट मैदान
डिसेम्बर १२ जर्सी त्रिवि क्रिकेट मैदान
डिसेम्बर १४ क्यानडा त्रिवि क्रिकेट मैदान
डिसेम्बर १८ नामिबिया त्रिवि क्रिकेट मैदान
डिसेम्बर २१ कुवेत त्रिवि क्रिकेट मैदान
प्रतियोगितामा प्रत्येक टोलीले सात खेल खेल्नेछ। लिग चरणको समाप्तिपछि अंकतालिकाको शीर्ष चारमा रहने टोलीले अर्को वर्ष हुने १० टोली सम्मिलित ग्लोबल छनोटमा स्थान बनाउनेछन्।
यसअघि नै वेस्ट इन्डिज, आयरल्यान्ड, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेका छन्। वेस्ट इन्डिज र आयरल्यान्ड विश्वकपका लागि स्वतः छनोट भएका आयोजक दक्षिण अफ्रिका र जिम्बाब्वेबाहेकका पूर्ण सदस्य राष्ट्रमध्ये उच्च वरीयताका आधारमा छनोट भएका हुन्। यस्तै, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले आईसीसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष चारमा रहँदै ग्लोबल छनोटमा स्थान बनाएका हुन्।
यस प्लेअफबाट छनोट हुने चार टोलीसँगै ग्लोबल छनोटमा १० टोली पुग्नेछन्। ग्लोबल छनोटको विजेता टोलीले सन् २०२७ को विश्वकपको समूह चरणमा सीधा स्थान बनाउनेछ। दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीले भने नयाँ सुपर सिरिजमा प्रतिस्पर्धा गर्नेछन्।
आइसिसीका इभेन्ट्स एन्ड अपरेसन्स महाप्रबन्धक गौरव सक्सेनाले प्लेअफलाई विश्वकप २०२७ को यात्राको महत्वपूर्ण चरणका रूपमा व्याख्या गरेका छन्। उनले एसोसिएट क्रिकेटको विकासका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण अवसर प्रदान गर्ने बताउँदै आठवटै टोलीबीच प्रतिस्पर्धात्मक क्रिकेट हुने विश्वास व्यक्त गरेका छन्।
सन् २०२७ को पुरुष क्रिकेट विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा अक्टोबर २ देखि नोभेम्बर २१ सम्म आयोजना हुनेछ। १४ टोली सहभागी हुने प्रतियोगितामा १२ मैदानमा कुल ५७ खेल सञ्चालन हुनेछन्।