एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतसँग १० विकेटको लज्जास्पद हार बेहोरेको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा शुक्रबार भएको समूह ‘ए’ को खेलमा नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य भारतले कुनै विकेट नगुमाई १९.१ ओभरमै पूरा गर्यो।
नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ४२.३ ओभरमा सबै विकेट गुमाएर १२८ रन बनाएको थियो। नेपालको ब्याटिङ सुरुदेखि नै कमजोर रह्यो। टोलीले २७ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो।
ओपनर निरजकुमार यादवले ४८ बलमा २० रन बनाए। प्रसिद्ध जैसी १, सूर्यांशु कोइराला ५ र निश्चल क्षेत्री शून्य रनमा आउट भए।
त्यसपछि दर्श सोनार र आशिष लुहारले नेपालको इनिङ सम्हाल्ने प्रयास गरे। दर्शले सर्वाधिक ४३ रन बनाए। उनले ९३ बलमा एक चौका र एक छक्का प्रहार गरे। आशिषले ४५ बलमा चार चौकासहित २९ रन जोडे।
सचिन भट्टले ६ रन बनाउँदा कप्तान विपिन शर्माले अविजित २ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपाललाई सस्तैमा समेट्ने क्रममा भारतका इशान सूदले १० ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। अर्जुन राजपुतले पनि ३ विकेट हात पारे। यशवीर गौडले २ तथा मनाल चौहान र काव्या परेश पटेलले १–१ विकेट लिए।
१२९ रनको लक्ष्य पछ्याएको भारतले आक्रामक ब्याटिङ गर्दै १९.१ ओभरमै जित निकाल्यो। भारतका आर्यवीर सेहवागले ५२ बलमा ७ चौका र ४ छक्काको मद्दतले अविजित ७० रन बनाए। कप्तान लक्ष्य रायचन्दानीले ६३ बलमा ७ चौकासहित अविजित ५३ रन जोडे।
आर्यवीर भारतका पूर्वक्रिकेटर वीरेन्द्र सेहवागका छोरा हुन्। खेलमा अर्का भारतका पूर्वकप्तान राहुल द्रविडको छोरा अन्भय द्रविडले पनि विकेटकिपर भूमिका निर्वाह गरेका थिए।