इटाली क्रिकेट महासंघले आगामी आइसिसी पुरुष टी–२० विश्वकप २०२६ का लागि टोलीको कप्तानी परिवर्तन गर्ने पक्का गरेको छ।
विश्वकप छनोटमा महत्वपूर्ण भूमिका खेलेका पूर्वकप्तान जो बर्न्सलाई टोलीबाटै हटाइएको छ। महासंघले वेन म्याडसेनले विश्वकपमा टोली नेतृत्व गर्ने पनि पुष्टि गरेको छ।
जो बर्न्स अष्ट्रेलियाली पूर्व टेस्ट क्रिकेटर हुन्। सन् २०१४ देखि २०२० सम्म अष्ट्रेलियाका लागि २३ टेस्ट म्याच खेलेका उनी ओपनिङ ब्याट्सम्यान थिए। उनले ४ शतकसहित १४४२ रन बनाएका थिए।
बर्न्स सन् २०२४ मा आफ्नो दाजुको निधनपछि भावनात्मक निर्णय गर्दै इटालीबाट खेल्न थालेका हुन्। बर्न्सकी आमा इटालियन मूलकी हुन् र उनका हजुरबुबा–हजुरआमा इटालीको कालाब्रिया क्षेत्रका थिए।
दाजुको सम्मानमा जर्सी नम्बर ८५ लगाउने बर्न्सले इटालीको कप्तानी सम्हाल्दै युरोपेली छनोटमा इटालीको इतिहासमै पहिलो विश्वकप छनोट गराए।
वेन म्याडसेन दक्षिण अफ्रिकामा जन्मिएका अनुभवी ब्याट्सम्यान हुन्। उनी लामो समय इंग्ल्यान्डको काउन्टी क्रिकेट क्लब डर्बीशायरका लागि खेल्दै आएका छन् र २०,००० भन्दा बढी रन बनाएका छन्। इटालियन पासपोर्ट भएका कारण उनी इटालीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्छन्। म्याडसेनले पहिले दक्षिण अफ्रिकाका लागि हकीमा पनि अन्तर्राष्ट्रिय खेल खेलेका थिए। उनी टोलीको नेतृत्व समूहमा केन्द्रीय व्यक्ति हुन् र टी–२० आईमा इटालीको प्रतिनिधित्व गरिसकेका छन्। महासंघले उनलाई स्थिरता र निरन्तरताका लागि उपयुक्त कप्तान मानेको छ।
महासंघको विज्ञप्तिअनुसार जो बर्न्ससँग उपलब्धताबारे प्रारम्भिक कुराकानी भएको थियो भने उनीसँग पूर्ण सहमति हुन नसकेको हो। साथै औपचारिक सम्झौता (कन्ट्र्याक्ट) पनि नभएको महासंघको भनाइ छ। साथै, आन्तरिक प्राविधिक र संगठनात्मक मूल्यांकनले वेन म्याडसेनलाई कप्तान छनोट गरेको हो।
बर्न्सप्रति इटाली क्रिकेटमा गरेको योगदानका लागि धन्यवाद पनि व्यक्त गरिएको छ। इटालीको यो कुनै पनि तहको आइसिसी विश्व प्रतियोगितामा पहिलो सहभागिता हो।
विश्वकपमा इटाली समूह सीमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज र बंगलादेशसँग छ। इटालीको पहिलो खेल फेब्रुअरी ९ मा कोलकातामा बंगलादेशसँग हुनेछ। नेपाल र इटाली फेब्रुअरी १२ मा प्रतिस्पर्धा गर्नेछ। यो खेल मुम्बईमा हुनेछ।