भारत आइसिसी टी-२० विश्वकपको सेमिफाइलन प्रवेश गरेको छ।
सुपर-८ को अन्तिम खेलमा पूर्व विश्वविजेता वेस्ट इण्डिजलाई ५ विकेटले पराजित गर्दै भारत टी-२० विश्वकपको सेमिफाइनल प्रवेश गरेको हो।
कोलकाताको इडेन गार्डेनमा वेस्ट इण्डिजले दिएको १९६ रनको लक्ष्य भारतले ४ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्यो।
भारतको जितमा ओपनर सञ्जु सामसन नायक सावित भए।
उनले नटआउट ९७ रन बनाएपछि भारतको जित सुनिश्चित भएको हो। ५० बल खेलेका उनले १२ चौका र ४ छक्का प्रहार गरे।
तिलक बर्माले १५ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २७ रन जोड्नुबाहेक भारतका अन्य ब्याटर सस्तोमै आउट भएका थिए।
कप्तान सूर्यकुमार यादव १८ रनमा आउट हुँदा हार्दिक पाण्ड्या १७, इशान किसन १०, ओपनर अभिषेक शर्मा १० रनमा आउट भएका थिए।
बलिङतर्फ वेस्ट इण्डिजका जेसन होल्डर र शामर जोशेफले २/२ तथा अकिल हुसेले १ विकेट लिएका थिए।
पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले ४ विकेट गुमाएर १९५ रन बनाएको थियो।
त्यस क्रममा रोवमेन पवेल र जेसन होल्डरले नट आउट ३४ र ३७ रन बनाए।
त्यसअघि ओपनर रोस्टन चेसले २५ बलमा ५ चौका र १ छक्का प्रहार गरी ४० रनको योगदान गरे। अर्का ओपनर शाई होपले ३३ बलमा ३ चौका र १ छक्का प्रहार गरी ३२ रन जोडे।
वेस्ट इण्डिजका लागि शिमरन हेटमायरले १२ बल खेलेर १ चौका र २ छक्काको मद्दतबाट २७ रन जोडे। शर्फेन रदरफोर्डले ९ बलमा १४ रन बनाए।
बलिङतर्फ भारतका जसप्रित बुमराहले २ तथा हार्दिक पाण्ड्या र वरूण चक्रवर्थीले एक/एक विकेट लिए।
हारसँगै वेस्ट इण्डिजको विश्वकप यात्रा समाप्त भएको छ।