आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ को महत्वपूर्ण खेलमा भारतले वेस्ट इन्डिजमाथि ५ विकेटको जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्यो। जितसँगै भारतले सेमिफाइनलमा इंग्ल्यान्डसँगको भेट पक्का गर्यो। भारतको जितसँगै १० कीर्तिमान बनेका छन्।
१. ऐतिहासिक लक्ष्य पार
भारतले वेस्ट इन्डिज विरुद्ध १९६ रनको लक्ष्य सफलतापूर्वक पूरा गर्यो। यो टी-२० विश्वकपको इतिहासमा पछ्याइएको तेस्रो ठूलो लक्ष्य हो। (सबैभन्दा ठूलो इङ्ल्यान्डले २०१६ मा २३० रन र दोस्रो दक्षिण अफ्रिकाले २००७ मा २०६ रन पछ्याएका थिए)।
२. भारतको नयाँ रेकर्ड
१९६ रनको यो लक्ष्य भारतले टी-२० विश्वकपमा पछ्याएको अहिलेसम्मकै ठूलो स्कोर हो। यसअघि सन् २०१४ मा भारतले दक्षिण अफ्रिका विरुद्ध १७३ रन पछ्याएको थियो। साथै, वेस्ट इन्डिजले बनाएको १९५/५ रन भारतले पहिले बलिङ गर्दा खाएको अहिलेसम्मकै धेरै रन हो।
३. सन्जु सामसनको शानदार प्रदर्शन
सन्जु सामसनले बनाएको अविजित ९७ रन टी-२० विश्वकपमा कुनै पनि भारतीय खेलाडीले बनाएको दोस्रो ठूलो स्कोर हो। (पहिलो सुरेश रैनाको १०१ रन हो)। तर, लक्ष्य पछ्याउने क्रममा भने यो भारतको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर हो। उनले विराट कोहलीको ८२ रनको रेकर्डलाई पनि पछि पारेका छन्।
४. सामसनको पहिलो अर्धशतक
लक्ष्य पछ्याउने क्रममा टी-२० अन्तर्राष्ट्रिय खेलमा सामसनले प्रहार गरेको यो पहिलो अर्धशतक हो। यसअघि लक्ष्य पछ्याउँदा उनको उच्च स्कोर ३९ रन मात्र थियो।
५. रोभम्यान पावेलको १५० छक्का
रोभम्यान पावेल टी-२० अन्तर्राष्ट्रियमा १५० छक्का प्रहार गर्ने पहिलो वेस्ट इन्डियन खेलाडी बनेका छन्। उनले निकोलस पुरनको १४९ छक्काको रेकर्ड तोडेका हुन्।
६. वेस्ट इन्डिजको छक्काको वर्षा
यस विश्वकपमा वेस्ट इन्डिजले कुल ७६ छक्का प्रहार गर्यो। कुनै पनि एउटै प्रतियोगितामा कुनै टिमले प्रहार गरेको यो दोस्रो धेरै छक्का हो।
७. हेटमायरको कीर्तिमान
शिमरोन हेटमायरले यसै विश्वकपमा १९ छक्का प्रहार गरे। यो कुनै पनि एक टी-२० विश्वकप संस्करणमा एकै ब्याटरले प्रहार गरेको सबैभन्दा धेरै छक्का हो।
८. छैटौँ पटक सेमिफाइनलमा
भारत टी-२० विश्वकपको इतिहासमा छैटौँ पटक (२००७, २०१४, २०१६, २०२२, २०२४ र २०२६) सेमिफाइनलमा पुग्न सफल भएको छ। पाकिस्तान र इङ्ल्यान्ड पनि ६-६ पटक सेमिफाइनल पुग्ने टिम हुन्।
९. रनको ठूलो अन्तर
सामसनको ९७ रन र तिलक वर्माको २७ रन बीच ७० रनको अन्तर थियो। भारतको लागि टी-२० विश्वकपको एउटै इनिङ्समा पहिलो र दोस्रो धेरै रन बनाउने खेलाडीबीचको यो अहिलेसम्मकै ठूलो अन्तर हो।
१०. इडेन गार्डेन्समा अपराजित भारत
कोलकाताको इडेन गार्डेन्स मैदानमा भारतले लगातार ८ खेल जितेको छ। सन् २०११ पछि भारत यहाँ हारेको छैन। यो भारतको कुनै पनि एउटै मैदानमा भएको सबैभन्दा लामो विजय यात्रा हो। यी ८ मध्ये ५ जित वेस्ट इन्डिज विरुद्ध नै आएका हुन्।