टी-२० विश्वकपमा निराशाजनक प्रदर्शन गरेपछि पाकिस्तान क्रिकेट बोर्डले आफ्ना सबै खेलाडीलाई जरिवाना गरेको छ।
लगातार चौथो पटक आइसिसी प्रतियोगिताको सेमिफाइनलमा पुग्न असफल भएपछि बोर्डले टोलीका प्रत्येक सदस्यलाई ५० लाख पाकिस्तानी रुपैयाँ (करिब १८ हजार अमेरिकी डलर) जरिवाना गर्ने निर्णय गरेको हो।
पाकिस्तानको क्रिकेट इतिहासमा लगातार चार पटक आईसीसी प्रतियोगिताको सेमिफाइनलमा पुग्न नसकेको यो पहिलो पटक हो।
इएसपीएन क्रिकइन्फोका अनुसार यो जरिवाना खेलाडीहरूको अनुशासनको कमीले नभई मैदानमा उनीहरूको 'खराब प्रदर्शन' का कारण गरिएको हो। विशेष गरी समूह चरणमा भारतसँग ६१ रनको लज्जास्पद हार बेहोरेलगत्तै बोर्डले यो जरिवाना तोकेको थियो। यद्यपि, यदि टोली सेमिफाइनलसम्म पुगेको भए यो जरिवाना मिनाहा गरिदिने सर्त पनि राखिएको थियो।
पाकिस्तान यो पटक सुपर-८ चरणसम्म पुग्न सफल भए पनि सेमिफाइनलको यात्रा तय गर्न सकेन। सुपर-८ मा न्युजिल्याण्डसँगको खेल वर्षाका कारण रद्द हुनु र इंग्ल्याण्डसँग पराजित हुनु टोलीका लागि घातक बन्यो। अन्तिम खेलमा श्रीलंकालाई हराए पनि सेमिफाइनल पुग्न त्यो जितको अन्तर पर्याप्त भएन र पाकिस्तान बाहिरिनु पर्यो।
सामान्यतया बोर्डले अनुशासन तोड्ने खेलाडीलाई कारबाही गर्ने गर्छ, तर खेलकै आधारमा जरिवाना गरिएको यो घटनालाई निकै दुर्लभ र अनौठो मानिएको छ। यसअघि एसिया कपको फाइनलमा भारतसँग हारेपछि पनि पीसीबीले खेलाडीहरूलाई विदेशी लिग खेल्न दिइने अनुमति पत्र केही समयका लागि रोक्का गरेको थियो।
टोलीको प्रदर्शन खराब रहे पनि ब्याटर साहिबजादा फरहानका लागि भने यो विश्वकप विशेष रह्यो। उनले एउटै टी-२० विश्वकपमा दुईवटा शतक प्रहार गर्दै सबैभन्दा धेरै रन बनाउने नयाँ कीर्तिमान कायम गरे।