प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ।
पुलिसले माथिल्लो मुलपानी मैदानमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई १८५ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
पुलिसले दिएको ३५६ रनको विशाल लक्ष्य पछ्याएको एपिएफ ४४ ओभरमा १७० रनमा अलआउट भयो।
एपिएफका लागि नन्दन यादवले नटआउट ४४ रन बनाए। उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गर्न सके। कमल ऐरीले ३५ रन बनाउँदा एपिएफका अरु ब्याटर चल्न सकेनन्।
बलिङमा पुलिसका ललित राजवंशीले ३ विकेट लिए। करण केसी, रशिद खान, दिनेश खरेलले २-२ विकेट लिए।
त्यसअघि पुलिसले प्रधानमन्त्री कप इतिहासकै सर्वाधिक स्कोर बनाउने क्रममा ९ विकेटको क्षतिमा ३५५ रन बनायो।
पुलिसले सशस्त्र प्रहरी बलको एपिएफ क्लबविरूद्ध यो कीर्तिमानी स्कोर खडा गर्दै एपिएफकै नाममा रहेको आठ वर्ष पुरानो कीर्तिमान भंग गर्यो। यसअघि एपिएफले मधेश प्रदेशविरूद्ध ३३९ रन बनाएको थियो।
टस जितेको एपिएफले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पुलिसका लागि चार ब्याटरले अर्धशतक प्रहार गरे।
ओपनिङ ब्याटर दिनेश खरेलले ५२ बलमा ६ चौका र ४ छक्काको मद्दतमा ६० रन बनाए। त्यसपछि शंकर रानाले ६१ रनको योगदान गरे। रानाले ५४ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका थिए।
कप्तान आरिफ शेखले पनि अर्धशतक प्रहार गर्न सफल भए। आरिफले ४२ बलमा ५ चौका र २ छक्काको मद्दतमा ५० रन बनाए।
चौथो अर्धशतक दिलसाद अलीको नाममा रह्यो। दिलसादले ३० बलमा ५ चौका र ३ छक्का हिर्काउँदै नटआउट ५१ रन जोडे।
बलिङमा एपिएफका कमल ऐरी र अमर रौटेलाले २-२ विकेट लिए।
यता बागमती प्रदेशले पहिलो जित निकाल्ने क्रममा गण्डकी प्रदेशलाई १७० रनको फराकिलो अन्तरले हराएको छ। तल्लो मुलपानी मैदानमा बागमतीले दिएको २९५ रनको लक्ष्य पछ्याएको गण्डकी १२४ रनमा अलआउट भयो। उसका लागि अर्जुन कुमालले ७४ रन बनाए पनि अरु ब्याटर चल्न सकेनन्।
बलिङमा बागमतीका रिजन ढकालले ३ विकेट लिए भने सन्दीप लामिछाने र इशान पाण्डेले २-२ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ८ विकेटको क्षतिमा २९४ रन बनायो। उसका लागि इशान पाण्डेले ७१ रन बनाए भने आशुतोष घिरैयाले ५९ रनको योगदान गरे।
बलिङमा गण्डकीका कमल परियारले २ विकेट हात पारे।