नेपालका ८ जना खेलाडी बेल्जियमको इयू टी-२० लिगका लागि आवद्ध हुन सफल भएका छन्। नेपालको लिगबाहेक एकै पटक यति संख्या नेपाली खेलाडीले खेल्न लागेको यो पहिलो विदेशी लिग हो।
मंगलबार राति बेल्जियमको राजधानी ब्रसेल्समा भएको ड्राफ्टबाट ६ जना खेलाडीलाई टोलीले आबद्ध गरेका हुन्। यसअघि दुई जना खेलाडीलाई टोलीहरूले पहिले नै छनोट गरिसकेका थिए।
यसअघि सन्दीप लामिछानेलाई लिएज रेड लायन्स र दीपेन्द्रसिंह ऐरीलाई जेबी ब्रुजले टोलीमा आबद्ध गरेका थिए।
मंगलबार भएको ड्राफ्टमा कप्तान रोहितकुमार पौडेललाई ग्लेन्ट ग्लाडियटर्सले टोलीमा भित्र्यायो।
विकेटकिपर ब्याटर आसिफ शेखलाई आन्थ्रोप एंकर्सले लिएको छ। ड्राफ्टअघि दीपेन्द्रलाई आबद्ध गरेको जेबीले थप चार नेपाली खेलाडी ड्राफ्टबाट भित्र्यायो। जसमा अनिलकुमार साह, गुल्सन झा, ललितनारायण राजवंशी र ईशान पाण्डे छन्। ड्राफ्टमा २२ जना खेलाडीले नाम दर्ता गराएका थिए।
कुन टोलीमा को नेपाली खेलाडी?
आन्थ्रोप एंकर्स - आसिफ शेख
ग्लेन्ट ग्लाडिएटर्स - रोहित पौडेल
एक्सेल युनाइटेड -
जेबी ब्रुज – दीपेन्द्रसिंह ऐरी, अनिलकुमार साह, गुल्सन झा, ललितनारायण राजवंशी र ईशान पाण्डे
लिएज रेड लायन्स – सन्दीप लामिछाने
जेबी ब्रुज नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्स (जेबी) को लगानीकर्ता कम्पनी ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको टोली हो।
इयू टी-२० लिग बेल्जियमको पहिलो फ्रेन्चाइज क्रिकेट लिग हो। बेल्जियन क्रिकेट फेडरेसनले डेस्टिनो लिजेन्ड्स स्पोर्ट्स एलएलसीसँग साझेदारी गर्दै आयोजना गर्न लागेको लिग आगामी जुन ६ देखि १४ जुनसम्म आयोजना हुनेछ।
नेपाली खेलाडीलाई प्राथमिकता दिने उद्देश्यले बेल्जियमको लिगमा लगानी गरेको ड्रिम स्पोर्ट्सले पहिलो सिजनमा १० लाख डलरसम्म खर्च हुने अनुमान गरेको छ।
एक वर्षअघि घोषणा गरिएको लिगमा बेल्जियमका प्रमुख शहरहरू प्रतिनिधित्व गर्ने ५ फ्रेन्चाइज टिमहरूले राउन्ड-रोबिन लिग चरण खेल्छन्, त्यसपछि शीर्ष चार टिमहरूले प्लेअफमा प्रतिस्पर्धा गर्छन्। यसअघि ६ टोली भनिए पनि अहिले ५ टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन्।
सहभागी टोलीमा जेबी ब्रुजसहित आन्थ्रोप एंकर्स, ग्लेन्ट ग्लाडिएटर्स, एक्सेल युनाइटेड र लिएज रेड लायन्स छन्।
प्रत्येक टिममा १८ खेलाडी हुनेछन्। जसमा कम्तीमा ४ खेलाडी बेल्जियन (सुरुवाती-११ कम्तीमा २ जना अनिवार्य), ४ खेलाडी एसोसिएट टोलीका, ४ खेलाडी पूर्ण सदस्य टोलीका सक्रिय खेलाडी र ६ जना ‘भेट्रान’ (अनुभवी पूर्ण सदस्य राष्ट्रका खेलाडी, जसले पछिल्लो २ वर्षमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्) हुने बताइएको छ।
इंग्ल्यान्डका पूर्वकप्तान इयोन मोर्गन ग्लोबल ब्रान्ड एम्बेसडर छन्। मोर्गनले मंगलबार भएको ड्राफ्टमा पनि उपस्थित हुँदै शुभकामना दिएका थिए।