इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेलाडीहरू घाइते हुने क्रमसँगै कोलकाता नाइट राइडर्स (केकेआर) र गुजरात टाइटन्स (जिटी) ले नयाँ खेलाडीहरू टोलीमा भित्र्याएका छन्।
कोलकाताले घाइते हर्षित रानाको स्थानमा तीव्र गतिका बलर नवदीप सैनीलाई ७५ लाख भारुमा अनुबन्ध गरेको छ।
सैनीले भारतका लागि टेस्ट, ओडिआई र टि-२० खेलिसकेका छन्, तर सन् २०२१ देखि उनी राष्ट्रिय टोली बाहिर थिए। उनले पछिल्लो पटक २०२३ मा आईपीएल खेलेका थिए।
आफ्नो पुनरागमनबारे सैनी भन्छन्, ‘मैले यो अवसरलाई अर्को नाम दिनुपरेमा, म यसलाई 'पुनर्जन्म' भन्नेछु। पछिल्लो दुई-तीन वर्षमा मैले धेरै उतारचढाव भोगेँ, तर मैले मिहिनेत गर्न छाडिनँ। त्यही मिहिनेतका कारण आज मैले फेरि यो मौका पाएको छु।’
यसअघि नै केकेआरले घाइते आकाश दीपको स्थानमा सौरभ दुबेलाई पनि टोलीमा समावेश गरेको छ।
गुजरात टाइटन्सले घाइते बायाँ हाते बलर पृथ्वी राज यार्राको सट्टामा कुलवन्त खेज्रोलियालाई ३० लाख भारुमा टोलीमा लिएको छ।
खेज्रोलिया अघिल्लो सिजनमा पनि गुजरातकै टोलीमा थिए। उनले यसअघि आरसीबी र केकेआरबाट पनि आईपीएल खेलिसकेका छन्।