प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले दोस्रो जित हात पारेको छ।
मधेशले शुक्रबार जनकपुरमा भएको खेलमा लुम्बिनी प्रदेशलाई २४ रनले हरायो। मधेसले १२४ रनको सामान्य लक्ष्य दिए पनि लुम्बिनी २६ ओभरमा ९९ रनमै अलआउट हुन पुगेको थियो।
लुम्बिनीका लागि सुमित श्रेष्ठले सर्वाधिक ३० रन जोड्दा मधेशका विशाल पटेलले ५ विकेट लिएका छन्।
त्यसअघि मधेश ३८.१ ओभरमा १२४ रनमा अलआउट भयो। उसका ओपनर मयन यादवले सबैभन्दा बढी ३१ रन बनाए।
बलिङमा लुम्बिनीका सन्देश थापा र सन्तोष यादवले ३-३ विकेट लिए।
यता वीरगञ्जमा भएको खेलमा सुदूरपश्चिमले पहिलो जित निकाल्ने क्रममा कोशी प्रदेशलाई ७ विकेटले हराएको छ।
पहिले ब्याटिङ गरेको कोशी ४३.४ ओभरमा १३० रनमै अलआउट भयो। उसका शिवास बजगाइले २५ रन बनाए भने बलिङमा सुदुरपश्चिमका हेमन्त धामीले ४ विकेट लिए।
१३१ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि खडक बोहराले ६६ रन बनाए।