श्रीलंकन तीव्र गतिका बलर नुवान थुसारा फिट्नेस टेस्टमा असफल भएका छन्। यसकारण उनलाई श्रीलंका क्रिकेट बोर्डले आईपीएल २०२६ मा सहभागी हुन आवश्यक पर्ने अनुमति पत्र (एनओसी) दिएको छैन।
रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) का लागि यो ठूलो झट्का हो, किनकि टोलीमा यसअघि नै यश दयाल छैनन् र जोस हेजलवुडको सहभागितामा पनि अन्योल छ।
श्रीलंका क्रिकेटका प्रमुख कार्यकारी एश्ले डी सिल्भाका अनुसार थुसाराले फिट्नेसका ५ वटा मापदण्डमा २९ मध्ये कम्तीमा १७ अंक ल्याउनुपर्ने थियो। तर उनले सो स्कोर पुर्याउन सकेनन्।
थुसाराले शनिबार हुने सनराइजर्स हैदरावाद विरुद्धको पहिलो खेल पक्का गुमाउनेछन्। साथै, अप्रिल ५ मा हुने चेन्नई सुपर किंग्स विरुद्धको दोस्रो खेलमा पनि उनी उपलब्ध हुने सम्भावना न्यून छ। उनले ४-५ दिनपछि फेरि फिट्नेस टेस्ट दिन पाउँनेछन्। यदि फेरि पनि फेल भएमा उनलाई केही समयका लागि क्रिकेट खेल्न नै रोक लगाइन सक्छ।
१८ करोडमा कोलकाता नाइट राइडर्समा आबद्ध पाथिराना पिँधुलाको चोटका कारण अहिले उपचार गराइरहेका छन्। उनी अप्रिलको मध्यतिर मात्र टोलीमा जोडिन सक्छन्।
२ करोडमा लखनऊ सुपर जायन्ट्समा आबद्ध हसरंगा पनि ह्यामस्ट्रिङ चोटका कारण मैदान बाहिर छन्।
यी दुवै खेलाडीले पनि अहिलेसम्म आफ्नो फिट्नेस टेस्ट दिएका छैनन्। फिट्नेस टेस्ट पास गरेपछि मात्र उनीहरूले आईपीएल खेल्ने अनुमति पाउँनेछन्।