रोयल च्यालेन्जर्स बेंगलुरुले सिजनको आईपीएलमा विजयी सुरुवात गर्ने क्रममा शनिबार सनराइजर्स हैदरावादलाई ६ विकेटले हराएको छ। जसमा बलर जेकब डफीले उत्कृष्ट प्रदर्शन गरे।
जेकब डफी रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)का लागि आफ्नो पहिलो आईपीएल खेल खेल्न मैदानमा उत्रिए, उनको मनमा तीन हप्ताअघिको टी-२० विश्वकप फाइनलको एउटा नराम्रो सम्झना ताजा थियो।
अहमदाबादमा भएको त्यो फाइनलमा भारतका अभिषेक शर्माले डफीलाई कडा प्रहार गर्दै मात्र १८ बलमा अर्धशतक बनाएका थिए र डफीले ३ ओभरमा ४२ रन दिएर कुनै विकेट लिन सकेका थिएनन्।
तर, यसपटक बेंगलुरुको एम चिन्नास्वामी स्टेडियमको माहोल र पिच दुवै फरक थियो। पिचमा सुरुवाती समयमा बल अलि बढी बाउन्स भइरहेको थियो। सुरुमै अभिषेक शर्माले डफीलाई छक्का प्रहार गरे पनि डफीले हिम्मत हारेनन्। उनले पिचको फाइदा उठाउँदै बललाई सही लेन्थमा राखेर बलिङ गर्न थाले।
आफ्नो दोस्रो ओभरको पहिलो बलमै डफीले अभिषेक शर्मालाई आउट गरे। अभिषेकले सट खेल्न खोज्दा बल विकेटकिपर जितेश शर्माको हातमा पुग्यो। सोही ओभरमा डफीले खतरनाक ब्याटर ट्राभिस हेडलाई पनि बाउन्ड्री नजिक क्याच आउट गराए। डफीले एकै ओभरमा दुई ठूला विकेट लिएर सनराइजर्स हैदराबादको जग हल्लाइदिए।
आफ्नो तेस्रो ओभरमा उनले नीतिश कुमार रेड्डीलाई पनि सर्ट बलमा आउट गराए। डफीको बलिङमा कुनै आक्रामक रिस थिएन, बरु पिचको अवस्था बुझेर गरिएको स्पष्ट योजना थियो।
खेलपछि डफीले भने, ‘मैले खेललाई धेरै सरल राख्ने कोसिस गरेँ। जोश हेजलवुडले अघिल्लो सिजन यहाँ जे गरेका थिए, मैले त्यही तरिकालाई पछ्याउने प्रयास गरेँ।’
आरसीबीका कप्तान रजत पाटीदारले डफीको उत्कृष्ट फर्म देखेपछि उनलाई सुरुमै लगातार चार ओभर बलिङ गराए। डफीले आफ्नो स्पेल सकिँदासम्म हैदराबादको सुरुवाती ब्याटिङ लाइनअपलाई ध्वस्त पारिसकेका थिए। उनले ७ ओभर सकिँदा नै आफ्नो कोटाको बलिङ पूरा गरेर मैदानबाट बाहिरिँदा ३० हजार दर्शकले उठेर ताली बजाउँदै उनको नामको नारा लगाएका थिए।
न्युजिल्याण्डको एउटा सानो ठाउँबाट आएका डफीका लागि यो अनुभव अद्भुत थियो। उनले भने, "यो मेरो लागि निकै राम्रो सुरुवात रह्यो। कप्तानले मलाई लगातार बलिङ गर्न दिए र मैले केही विकेट लिन सकेँ। यो मेरा लागि एउटा राम्रो दिन हो।"
खेलमा पछि विराट कोहली र देवदत्त पडिक्कलले उत्कृष्ट ब्याटिङ गरे पनि डफीको त्यो सुरुवाती घातक स्पेललाई सबैभन्दा महत्वपूर्ण मानियो र उनलाई 'प्लेयर अफ द म्याच' घोषित गरियो।
विश्वकपको फाइनलमा अभिषेक शर्मासँग खाएको कुटाइको बदला डफीले आईपीएलको पहिलो खेलमै लिए र बेंगलुरुका प्रशंसकहरूको मन जित्न सफल भए।